बर्खायाममा पनि मेलम्चीको पानी आउने
SamacharDesk | २०८० आषाढ १, शुक्रबार

यस वर्षको बर्खायाममा पनि मेलम्चीको पानी वितरण हुन सम्भावना रहेको छ ।
तथापि मेलम्ची खानेपानी आयोजना भने बर्खायाममा पानी वितरण गर्न या नगर्ने भन्ने निष्कर्षमा पुग्न सकेको छैन । तर गत महिना मर्मत गरेको सुरक्षा पूर्वाधारको काम निकै राम्रो भएकाले पानी निरन्तर आउने सम्भावना बढेको आयोजनाले जनाएको छ।
सो आयोजनाले विगत दुई वर्षदेखि बर्खाको समयमा पानी वितरण रोक्दै आएको छ। दुई वर्षअघि मनसुन भित्रिएको पहिलो दिन असार १ गते मेलम्ची खोलामा आएको भीषण बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनामा ठुलो क्षति पु-याएको थियो।
२०७८ असार १ र साउन १६ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले सो क्षेत्रमा जनधनको ठुलो क्षति पुर्याएपछि गत वर्ष पानी बन्द गरिएको थियो।
आयोजनाका अनुसार गत वर्षको तुलनामा हेडवर्कसमा सुरक्षाका थप उपायहरु अनाएका छन् । आयोजनाका अनुसार गेट नम्बर १ र ९ मा केही सुधारका काम भएका छन्। ती गेटलाई बन्द गर्न सकिने तथा धमिलो पानी सफा गर्न सकिने प्रणाली पनि जडान गरिएको छ।
विगतमा आठ/दस जनाले चेन तानेर ढोका बन्द गर्ने तथा खोल्नुपर्ने अवस्था रहेको मुहानको ढोकालाई बाढीपहिरोको पूर्वसूचनाका आधारमा ‘हाइड्रो मेकानिकल’ प्रणालीका आधारमा स्विच थिचेर आयोजनाको मुहानको ढोका बन्द गर्न तथा खोल्न सकिने बनाइएको छ ।
त्यसैले यसपालि खोलामा सामान्य पानी बढ्दैमा पानीको वितरण नै रोक्न पर्ने अवस्था आउन नसक्ने आयोजनाको रहेको छ ।
मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार “खोलामा बहाव मात्र बढेको छ। ढुङ्गा र बालुवासहितको बाढी आएको छैन भने पानी वितरणलाई निरन्तर गर्न सकिने गरी मुहान क्षेत्र तथा हेडवक्र्समा संरचना निर्माण गरिएको छ।
विगतमा भन्दा अहिले चनाखो भइएको छ। त्यत्रो मात्रामा बाढीपहिरो जान्छ भनेर दुई वर्षअधि कसैले अनुमान नै गरेको थिएन।’’
Categorized in राष्ट्रिय