arin enterprises

महानगरको आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक

SamacharDesk | २०८० आषाढ ७, बिहिबार

काठमाडौैं महानगरपालिका प्रमुख बालेन्द्र शाहले आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । 

बुधबार राष्ट्रिय सभागृहमा महानगरको १३औं अधिवेशनमा मेयर बालेन शाहले एक वर्षभित्र गरेका कार्य प्रगतिको विवरण पनि पेश गरेको थियो । अधिवेशनमा चालु आर्थिक वर्षमा १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण भएको बताएका छन् । 

शारीरिक तन्दुरुस्ती, मानसिक सतर्कता र भावनात्मक रूपमा स्थिरता कायम राख्ने पार्कहरूको निर्माण गर्ने क्रममा २५ वटा नयाँ पार्कको निर्माण भएको उल्लेख गरेका छन् । 

उनले सहरको सुरक्षा र पैदल यात्रीहरुलाई सहजता प्रदान गर्नको लागि महानगरले १७०० वटा स्मार्ट सडकवत्ति जडान गरेको तथा ४२ किमी। सडक कालोपत्रे, ७ कि.मी. नयाँ ढल निर्माण, १५०० मिटर फुटपाथ निर्माण  भएका जानकारी दिए । 

सार्वजनिक शौचालयहरू र सामुदायिक विद्यालय भवनहरू निर्माण तथा मर्मत लगायतका पूर्वाधार विकासका कार्यहरू सम्पन्न भएको र पैदलयात्रीहरुको सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइएको उनले बताए । 

३० ट्रक अव्यवस्थित तार व्यवस्थापन, ३० हजार ४०७ जनालाई कल सेन्टरमार्फत गुनासो टिपिएकोमा १ हजार ६५२ जनाको गुनासो समाधान,  ७ हजार ६ सय व्यक्तिलाई निःशुल्क कानुनी परामर्श सेवा महानगरले उपलव्ध गराएको प्रमुख साहले सुनाए ।  

स्वास्थ्य र शिक्षालाई पहुँचयुक्त बनाउन प्रचलित कानुनलाई कार्यान्वयन गराएर लक्षित बर्गमा सेवा लगिएको, विद्युतीय नक्सा पास प्रणालीलाई डिजिटल सिग्नेचरसहित पूर्ण अनलाइन गरिएको, राजस्व भुक्तानी प्रणालीलाई प्रयोगकर्तामैत्री बनाइएको छ । 

शाहले बुधबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्व सहमति बिना छनौट भएका संसदीय कोषका योजना तथा कार्यक्रम कार्यान्वयन नगर्ने उल्लेख गर्नुभएको हो ।

त्यस्तै, महानगरमा कार्यरत कर्मचारीका लागि सुनौलो अवकास योजना कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । महानगरपालिका क्षेत्रभित्र एक निर्दिष्ट नगर अस्पताल स्थापना गरी सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरले निजी तथा सामुदायिक अस्पतालसँगको सहकार्यमा सुलभ फार्मेसी स्वर्णिम योजना सञ्चालनमा ल्याई महानगरबासीलाई औषधि खरिदमा सहुलियत दिइने घोषणा गरेको छ । सार्वजनिक स्थानमा धुमपान तथा सूर्तिजन्य पदार्थको प्रयोग तथा बेचबिखनलाई पूर्णरूपमा रोक लगाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै मालपोत र नापीसम्बन्धी कार्यलाई महानगरपालिका मातहत सञ्चालनमा ल्याउन आवश्यक समन्वयसहित नीतिगत प्रबन्ध गरिने वार्षिक नीति तथा कार्यक्रममा जनाइएको छ ।

घोषणापत्रमा ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ दीर्घकालीन सोचका साथ ‘एक वडा एक पार्क र एक खेल मैदान, सफा, स्वच्छ, सुन्दर, धुलोरहित महानगर, सुलभ फार्मेसी, स्वास्थ्य प्रवर्धन केन्द्रको स्थापना र सञ्चालन लगायत विषय समेटिएका छन् । 

कम्तीमा ५ हजार नयाँ रोजगारीको सिर्जना, अर्गानिक खाद्य तथा तरकारीका आत्म निर्भर बनाउन सहयोग, सबै सडक कालोपत्रे गर्ने, खाल्टाखुल्टीरहित बनाउने, कम्तीमा १ लाख विरुवा रोप्ने कार्यक्रम नीतिमा समेटिएका छन् ।       

वन स्टप सर्भिस सेन्टरमा आधारित यातायात प्रणाली सञ्चालन गर्ने, परम्परागत खाद्य तथा पेय पदार्थको ब्राण्डिङ् गरेर निर्यात गर्ने, अधिकतम जनसंख्या लाभान्वित हुने ३ बर्षभित्र निर्माण सम्पन्न हुने १० वटा महानगर गौरवका योजना सञ्चालन गर्ने, सहरी सेवा, सुविधा र सहरी शासनका सवाललाई दिगो बनाउन महानगर स्वर्णिम योजना सञ्चालन गर्ने नीतिका मुख्य विषय हुन् । 

नीति तथा कार्यक्रममा ‘गरिखाने शिक्षा, महानगरको इच्छा’, ‘एक विद्यालय एक नर्स’, ‘एक विद्यालय एक सामाजिक सहजकर्ता’, ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’, ‘सुलभ फार्मेसी’, ‘धुलोरहित काठमाडौँ’, ‘सुन्दर महानगर’, ‘उज्यालो सहर, मेरो महानगर’ यस बर्षको कार्यनीतिमा समेटिएका छन् ।

यस्तै ‘संस्कृति, सम्पदा र पर्यटन, महानगरको धन’, ‘न्याय चौतारी’, ‘एग्रोपुलिङ्’, ‘साथी महानगर’, ‘एक टोल, एक खेलकुद पूर्वाधार’, ‘डुबान समाधान’, ‘सुशासनका लागि अनलाइन सेवा’, ‘महानगरले देख्छ’, ‘मेरो रहर, हरित सहर ’, ‘मिसन २१००’ कार्य नीति छन । 

Categorized in स्थानीय