पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू हुँदै
SamacharDesk – बिराज | २०८३ आश्विन २९, बिहिबार
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध, अन्य विमानस्थलमा मोड्नुपर्ने अवस्था तथा उडान रद्द हुने समस्या न्यूनीकरण गर्न आवश्यक आधुनिक हवाई मार्गनिर्देशन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अनुमति आवश्यक पर्ने विशेष कार्यसम्पादनमा आधारित हवाई मार्गनिर्देशन तथा अवतरण प्रक्रिया (आरएनपी–एआर) लागू गर्न आवश्यक प्राविधिक अध्ययन अघि बढाएको छ ।
प्राधिकरणका अनुसार यससम्बन्धी प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको छ । हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रेडियो संकेतमा आधारित मार्गनिर्देशन तथा अवतरण प्रणाली सञ्चालनमा छ ।
विमानस्थलको भौगोलिक अवस्थिति, आसपासका पहाडी भू–बनोट तथा प्राविधिक र सञ्चालनसम्बन्धी सीमितताका कारण प्रतिकूल मौसम र कम दृश्यता भएका बेला हवाई उडान सञ्चालनमा चुनौती उत्पन्न हुने गरेको छ ।
यस समस्यालाई सम्बोधन गर्न प्राधिकरणले उपग्रहमा आधारित हवाई मार्गनिर्देशन तथा अवतरण प्रणालीको विकास र कार्यान्वयनलाई प्राथमिकता दिएको छ ।
सोही क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर प्रणाली लागू गर्ने सम्बन्धमा प्रारम्भिक अध्ययन सम्पन्न गरिएको हो । उक्त प्रणाली कार्यान्वयनमा ल्याउन विस्तृत प्रक्रिया डिजाइन, प्राविधिक प्रमाणीकरण, सुरक्षा मूल्याङ्कन तथा प्रचलित नियामकीय मापदण्डअनुसार आवश्यक स्वीकृति प्राप्त गर्नुपर्नेछ ।
यी प्रक्रिया पूरा भएपछि कम दृश्यता भएका अवस्थामा समेत हवाई उडान सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ । यसले यात्रुलाई थप नियमित, भरपर्दो र सुरक्षित हवाई सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस) ले पोखराको हवाई सेवालाई थप सुरक्षित, नियमित र विश्वसनीय बनाउने दिशामा यो महत्त्वपूर्ण कदम भएको बताउनु भएको छ ।
मन्त्री पौडेलले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर अवतरण प्रक्रिया कार्यान्वयनको प्रक्रिया अघि बढेको छ । यसबाट प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध, अन्य विमानस्थलमा मोड्नुपर्ने अवस्था तथा उडान रद्द हुने समस्या घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’
नेपाल नागरिक उड्डयन प्राधिकरणले आधुनिक प्रविधिमा आधारित हवाई मार्गनिर्देशन प्रणालीको विकास तथा कार्यान्वयनमार्फत हवाई यातायातलाई सुरक्षित, नियमित, प्रभावकारी र विश्वसनीय बनाउने प्रतिबद्धता जनाएको छ ।
Categorized in बिजनेस




