मान्यजनबाट मोहनी टीका र जमरा लगाइँदै
SamacharDesk – Ram Dangol | २०८० कार्तिक ७, मंगलबार
आज विजया दशमी अर्थात् बडा दशैंको मुख्य दिन ।
नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइरहेका छन् ।
टीका प्रसाद ग्रहण गर्न साइत आज बिहान ११ बजेर २ मिनेटको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ ।
आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।
आज नेवाः समुदायहरु मोहनी नखः मनाईंदैछ । आजको दिन मान्यजनाबाट रातो, पहेँलो तथा अक्षताको टिका र जमरासहित मोहनी सिन्ह लगाइ आर्शिवाद लिई धुमधामसँग मोहनी नखः मनाइरहेका छ ।
आजको दिनमा ‘स्वाँ क्वकायेगु’ अथवा ‘चालँ क्वकायेगु’ गरिन्छ । नवमीको दिनमा पूजा गरिएका विभिन्न किसिमका औजार तथा ज्यावललाई पुनः पूजा गरी पूजाकोठाबाट झिक्नुलाई चालँ क्वकायेगु भनिन्छ ।
यस क्रममा कुलमा सबैभन्दा ज्येष्ठ सदस्यले अरू सबै सदस्यलाई निधारमा भुइसिन्हः ९सिन्दुरे टीका० र त्योभन्दा माथि मोहनी सिन्हः (कालो टीका) लगाइदिएर नलः स्वाँ र प्रसाद बाँड्ने चलन छ ।
“सली (माटाका सानो पाला) मोहनी सिन्ह सङ्कलन गरी तयार पारिएको एक प्रकारको टीकालाई नेपाल भाषामा मोहनी भन्ने गरिएको र त्यसबाट नै मोहनी भएको हो ।
मोहनी सिन्ह अत्यन्तै महत्वपूर्ण भएकाले नेवार समुदायमा निधारमा लगाउँदा रातो र पहेँलो टीकाभन्दा माथि लगाउने चलन रहिआएको छ ।
यो टीका लगाउँदा अञ्जन सिद्धि प्राप्त हुने विश्वास छ । टिकाका साथसाथै गलामा ‘क्वखा’ अर्थात् रातो र सेतो कपडाको धरो पनि बाँध्ने चलन छ ।
अनि थापिँचाको जाँड र पोलेको मासुसहित्को समय्बजि खाने चलन छ । चतुर्दशीको दिनमा पूजाकोठामा राखिएको नलाः स्वाँ, उखु र अदुवाको बोट आदिदेखि त्यहाँ राखिएका अन्य चिजबिजलाई पनि बाहिर निकालेर पिखालखु (घरको मूलदैलो) मा राखिन्छ ।
आगमघरमा बलि दिएको पशु वा पन्छीको एक टुक्रा मासु सुकाएर तिहारसम्मका लागि राखिन्छ । त्यसलाई राखेर लक्ष्मीपूजा गरेपछि मोहनी नखः विधिवत सम्पन्न हुने गर्दछ ।
त्यसैगरी नेवार बौद्ध समुदायमा आन्तरिक तथा बाह्य मारमाथि विजय प्राप्त गरी शून्यता भावमा बोधिसत्व चर्यामा लाग्न सकेको प्रतीकमा दशमीका दिन स्थानीय रुपमा काठमाडौँको तेबहा, कोहिटी, असन, यट्खामा पाया(खड्जात्रा) निकाल्ने प्रचलन छ ।
उता शाक्य समुदायहरु आज शस्त्रत्याग दिवस मनाईंदैछ ।
मौर्य सम्राट् चक्रवर्तीन्द्र राजा अशोकले भारतका विभिन्न राज्यमा युद्ध जित्दै गई अन्त्यमा कलिङ्ग विजयपछि धेरै मानिसको मृत्युपछि शस्त्र त्याग गरी बौद्धधर्म अँगालेको दिन विजयाशमीको दिन परेको थियो ।
यसैले बौद्धमार्गीले यस अवसरलाई शस्त्र परित्याग दिवसका रुपमा मान्ने गरेका छन् ।
Categorized in संस्कृति