सांसद वैद्यलाई हदैसम्मको कारवाही हुनुपर्ने सांसद शाक्यको माग
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ जेठ २८, शुक्रबार

बागमती प्रदेश सभाको बैठकमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम बैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएको भन्दै सत्ता पक्षका सांसदहरुले उहाँलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।
आजको बैठकमा सांसद वैद्यले सांसद देशको कार्यकारी प्रमुखलाई संसदीय मर्यादाको समेत ख्याल नगरी दिएको अभिव्यक्ति खेदजनक भएका भन्दै कारवाहीको माग गरिएको हो ।
यसै क्रममा वागमती प्रदेश सभासद् डा. अजयक्रान्ती शाक्यले देशको प्रधानमन्त्रीको हत्या गर्न तयार छु भन्दै दिएको अभिव्यक्ति क्षमा योग्य नभएको बताए ।
समाचारडेस्कसँग कुरा गर्दै डा. शाक्यले भने, ‘महात्मा गान्धीका हत्यारा नाथुराम विनायक गोड्सेको उदाहरण दिदैँ उहाँले देशको प्रधानमन्त्रीको हत्या गर्न तयार छु भन्दै दिएको अभिव्यक्ति क्षमा गर्न योग्य छैन । उहाँलाई हदैसम्मको कारबाही गर्न माग गर्छौ ।’
प्रदेशसभाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बारेको बहसमा वैद्यले देशको कार्यकारी प्रमुखकै हत्या गर्ने अभिव्यक्ति दिनु अराजकताको पराकाष्ठा भएको पनि सांसदहरुको भनाई छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि सांसद वैद्यको उक्त अभियव्यक्ति व्यक्तिगत हो कि काँग्रेसकै आधिकारिक धारणा हो भन्ने प्रष्ट पार्नुपर्ने डा. शाक्यले भन्नुभयो ।
सांसद वैद्यले प्रदेश सभाको वैठकमा बोलदै खड्ग प्रसाद ओलीले देश खान लागेको भन्दै नाथुराम गोड्से आवश्यक भएको र देश बचाउन आफैं नाथुराम गोड्से बन्न तयार भएको बताएका थिए ।
Categorized in राजनीति