arin enterprises

स्थानीय गुरुहरुको सम्मान गर्नुपर्नेमा सांसदहरुको जोड

SamacharDesk – बिराज | २०८० श्रावण ३१, बुधबार

काठमाडौंको किलागत टोलका गुरु इन्द्र महर्जनलाई राष्ट्रिय सम्मान दिइनुपर्नेमा जोड दिइएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले स्थानीय भाषा, कला, संस्कृतिको संरक्षाका लागि स्थानीय गुरुहरुको सम्मान गर्न सक्नुपर्नेमा जोड दिए ।

काठमाडौंको किलागः टोलका, देवीनाच (दीप्याखं) का गुरु एवम् नाइके स्व. इन्द्र महर्जनको स्मृति ग्रन्थ विमोचन कार्यक्रमका वक्ताहरुले यस्तो भनेका हुन् ।

स्व. महर्जनको ६ महिनाको पुण्यतिथिको अवसरमा उनको स्मृतिमा ‘ज्यापु संस्कृतिका धरोहर गुरु इन्द्र महर्जनः समय सन्दर्भ’ पुस्तक विमोचन गरिएको थियो ।

बागमती प्रदेश सांसद हरिप्रभा खड्गी श्रेष्ठ, बागमती प्रदेश सांसद शैलेन्द्र बज्राचार्य, पूर्वमन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं महनगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्य, प्रा.डा. त्रिरत्न मानन्धर लगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए ।

मन्तव्यको क्रममा बागमती प्रदेश सांसदद्वय बज्राचार्य र खड्गी श्रेष्ठले स्थानीय कला, संस्कृतिको संरक्षण र इन्द्र महर्जन प्रतिष्ठान गठनका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै पूर्वमन्त्री श्रेष्ठ, कामपा पूर्व प्रमुख शाक्यले किलागलको साथै नेवाः समुदायको बाजागाजा, जात्रापर्व लगायतका संस्कृति, सम्पदाको संरक्षणमा गुरु इन्द्र महर्जन एक रोल मोडल रहेको विचार राखे ।

त्यसैगरी वरिष्ठ पत्रकारद्वय पुष्करभक्त माथेमा र सुरेश किरण मानन्धरले विमोचित पुस्तकको समीक्षा गर्दै उक्त पुस्तक गुरु इन्द्र महर्जनको स्मृति ग्रन्थ मात्र नभई नेवाः संस्कृतिको ढोका नै भएको विचार राखे ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा स्वर्गीय गुरु महर्जनका ज्येष्ठ सुपुत्र नरेन्द्र महर्जनले गुरु इन्द्र महर्जनको नाममा प्रतिष्ठान संचालन गर्ने उद्घोष गरे ।

सोही कार्यक्रममा विमोचित पुस्तकलाई लिएर पुस्तक परिसंवाद पनि गरिएको थियो ।

पुस्तक परिसम्वादको क्रममा प्रा.डा. चन्द्रमान बज्राचार्य, प्रा.डा. चुन्दा बज्राचार्य, उप प्रा. डा. रविनदास श्रेष्ठ, सामाजिक उद्यमी अनिल चित्रकार, नेपाल सम्पदा संघका अध्यक्ष प्रकाश दर्नाल, ज्यापु महागुथि नेपाःका अध्यक्ष लोककवि राजभाइ जकःमि, नेपाल लोकबाजा संग्रहालयका सल्लाहकार पदम श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

Categorized in समाज