arin enterprises

मूल्यवृद्धि विरुद्ध माइतीघरमा प्रदर्शन

SamacharDesk | २०७९ चैत्र ५, आइतबार

उपभोक्ता जागरण अभियान नेपालले मूल्यवृद्धि विरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । अस्वभाविक मूल्यवृद्धिले उपभोक्ता मारमा परेको भन्दै मूल्यवृद्धि विरुद्धको जनचेतना अभिवृद्धि र सम्बन्धित निकायलाई खबरदारी गर्ने उदेश्यले शनिवार प्रदर्शन गरेको हो।

उपभोक्ताको हित र अधिकारको पक्षमा निरन्तर अभियान चलाउँदै आएको उपभोक्ता जागरण अभियान नेपालले “अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर”, “बजार अनुगमन व्यवस्थित गर”, “गुणस्तरीय बजारको ग्यारेन्टी गर”, “जनता मार्न पाइँदैन, मूल्यवृद्धि चाहिँदैन”, “सरकारको उपहार, महङ्गी र भ्रष्टाचार”, “उपभोक्ता अदालत गठन गर” जस्ता नारासहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेको थियो ।

उपभोक्ता जागरण अभियान नेपालका प्रवक्ता एवम् कोषाध्यक्ष दिपक विश्वकर्माले अस्वभाविक मूल्यवृद्धिले जनता बाँच्नै नसक्ने अवस्था आउँदा पनि सरकार र सम्बन्धित निकाय मुकदर्शक बनेको बताए ।

उनले खाने तेल, दूध, पेट्रोलियम पदार्थ जस्ता दैनिक उपभोग्य वस्तुमा हालसालै गरिएको मूल्यवृद्धि फिर्ता गर्न र उपभोक्ता अदालत गठन गर्न माग गरे । शान्तिपूर्ण ढंगले गरेको खबरदारीलाई बेवास्ता गरिए उपभोक्ता आन्दोलनमा होमिने र त्यसको परिणामको जिम्मेवारी सरकार र सम्बन्धित निकायले लिनुपर्ने विश्वकर्माले बताए ।

अभियानका उपाध्यक्ष विन्दा पाण्डेले मूल्यवृद्धिले जनता भोकै बस्नुपर्ने अवस्था आउँदा पनि सरकारलाई कुनै चिन्ता नहुनु र नदेखेझैँ अनि नसुनेझैँ गर्नु आश्चर्यजनक भएको बताए । अभियान्ताहरूले “कच्चा पदार्थको मूल्य बढेको बहानामा पटक–पटक मूल्यवृद्धि हुँदा पनि सरकार किन मूकदर्शक बनेको रु” भन्दै प्रश्न गरेका छन् ।

सरकार र व्यापारी दुवै मिलेर उपभोक्ता र बजारमाथि बेइमानी गरिहेको उनीहरूको दाबी छ । बारम्बार कृत्रिम अभाव सिर्जना गरेर उपभोक्ता ठगिएको उनीहरूको भनाइ छ । मूल्यवृद्धि विरुद्ध साङ्केतिक नाटक समेत प्रस्तुत गरिएको छ ।

शिक्षा, स्वास्थ्य, व्यापारी, न्यायालय सबै क्षेत्रबाट उपभोक्ता कसरी ठगिएका छन् भन्ने विषयलाई सांङ्केतिक नाटकमा प्रस्तुत गरिएको थियो । सबै क्षेत्रबाट उपभोक्ता लुटिरहेको र तिनलाई राजनीतिक नेतृत्वले कसरी संरक्षण गरिरहेको छ भन्ने विषयलाई नाटकमा उतारिएको थियो ।

अभियन्ताहरूले दाल, ग्याँस, चामल, तरकारी लगायतका खाद्य वस्तुहरू देखाएर तिनमा उपभोक्ता कसरी ठगिन्छन् भनेर सचेत गराएका थिए । उनीहरूले मूल्यवृद्धि विरुद्ध जनचेतनामूलक गीत तथा नृत्य समेत प्रस्तुत गरेका छन् । उनीहरूले केहिबेर नारा लगाएका थिए ।

उपभोक्ता अधिकार सबैको सरोकारको विषय भएको भन्दै अभियानमा जोडिन अपिल समेत गरिएको छ ।

Categorized in राष्ट्रिय