arin enterprises

नागको पूजा गर्दै नागपंचमी मनाईँदै

SamacharDesk – बिराज | २०७८ श्रावण २९, शुक्रबार

श्रावण शुक्ल पंचमी, आज देशैभरी साथै भारतमा समेत नागपंचमी मनाईँदैछ ।

नागको पूजा गरेर नाग, सर्प, बिच्छि आदिको भयबाट जोगिने कामना गर्दै आज नागपंचमी पर्व मनाईँदैछ ।

नागदेवतालाई पंचमी तिथिका स्वामीको रुपमा लिइन्छ । आजको दिनमा घरघरमा नागको तस्वीर टाँसेर सोही तस्वीरमा नागको पूजा गर्ने गरिन्छ । साथै नागको वासस्थानको रुपमा विभिन्न दह, ताल, पोखरी, इनार आदिमा पनि पूजा गर्ने गरिन्छ ।

गाईको दुध, अक्षता, दुबो आदि राखेर नागको पूजा गरिन्छ ।

आज काठमाडौंको नक्सालस्थित नागपोखरी, चोभारस्थित टौदह, भक्तपुरको सिद्धपोखरीमा विशेष मेला नै लाग्ने गर्दछ । यी स्थानको साथमा देशका विभिन्न नागस्थान र ईनार, दह आदिमा विहानैदेखि नागको पूजा गर्नेको घुइँचो नै लाग्ने गर्दछ ।

नागपंचमीमा विशेष गरी अष्टनाग अथवा नागका अष्टकुलको पूजा गरिन्छ । अष्टनाग अन्तर्गत अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नाग पर्दछन् ।

अष्टनाग चित्र टाँसेको घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ ।

आजको दिनमा हतो जोत्ने वा खेत खन्न नहुने विश्वासमा पनि समाजमा रहि आएको छ । पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भन्दै आजको दिन खनजोतको काम गर्न नहुने विश्वास समाजमा कायम रहेको छ ।

यसैगरी जिवीत नागको पूजा गर्न नहुने पनि भनि आएको छ । सनातनी धर्म अनुसार श्रद्धाभक्तिका साथ नाग देवताको चित्र, मूर्तिको पूजा गर्नुपर्दछ ।

यसैगरी आजको दिनमा आगोमा कुनै पनि प्रकारका फलामका भाँडाकुडाहरु बसाल्नु नहुने मान्यता पनि रहेको छ ।

साथै आज कुनै पनि किसिमको धारिलो वा चुच्चो परेको औजारको प्रयोग गर्न नहुने जनविश्वास पनि रहेको छ । त्यसैले आजको दिनमा सिलाई बुनाईका कामहरु नगर्नु नै राम्रो हुने धार्मिक विश्वास छ ।

यी विभिन्न वर्जित कार्यहरु गर्नाले नागदेवतालाई कष्ट हुने मान्यता रहेको छ।

नागपंचमीमा नाग देवताको व्रत पनि लिने गरिन्छ । पूरै दिन निराहार बसेर सूर्यास्त भएपछि खिर पकाएर सोही खीर नाग देवतालाई अर्पण गर्दै प्रसादका रूपमा रूपमा ग्रहण गर्ने गरिन्छ ।

व्रत अवधिभरि कुनै किसिमको भोजनका साथै व्रत समाप्ति पछि पनि नुन, चिल्लो तथा तेल जन्य परिकारहरू खान नहुने नियम रहेको छ । व्रतालुले भजन किर्तनसमेत गर्दै कृष्णबाट कालिया नागको उद्धारलगायतको कथाहरु पनि सुन्ने गरिन्छ । 

Categorized in संस्कृति