arin enterprises

कीर्तिपुरको मेयरमा कांग्रेसका नकर्मीले बाजी मार्याे

SamacharDesk | २०७९ जेठ ३, मंगलबार

कीर्तिपुर नगरपालिकामा मेयरमा यसपालि कांग्रेसले बाजी मारेको छ । मेयरमा कांग्रेसका राजकुमार नकर्मी विजयी हुनुभएको छ ।

उहाँले एमालेका रत्नकेशर बज्राचार्यलाई साढे चार हजार मतान्तरले पराजित गर्नुभएको हो । २०३६ सालदेखि नेपाली कांग्रेसमा सक्रिय भएका नकर्मीलाई २०६२र६३  को जनआन्दोलनमा गरेको त्यागको पुरस्कार १६ वर्षपछि मेयरमा जिताएर दिएका छन् ।

३० हजार हाराहारी मतदाता रहेको कीर्तिपुरमा नकर्मीले ९ हजार ४३ मत पाउँदै कम्युनिस्टको किल्ला भत्काइदिएका छन् भने कांग्रेसलाई स्थापित गर्ने सिलसिलाको सुरुवात गरेका छन् । नकर्मीका प्रतिद्वन्द्वी बज्राचार्यले ५ हजार ५०७ मत प्राप्त गर्नुभयो ।

एमालेको गढ नै मानिने कीर्तिपुरमा यसपालि नेकपा एमालेले कीर्तिपुरमा लगानी नै नभएका एमाले अध्यक्ष केपी शर्मा ओलीका नातेदारलाई टिकट दिएका कारण यसपालि एमालेले हात धुनुपरेको बताइन्छ ।   

त्यस्तै उपमेयरमा पनि शुभलक्ष्मी शाक्य विजयी हुनुभएको छ । शाक्य जनता समाजवादी पार्टी (जसपा) की नेता भए पनि रुख चुनाव चिन्ह लिएर उठ्नु भएको थियो । यस्तै कीर्तिपुर नगरपालिकामा कांग्रेसले १० मध्ये ९ वडामा अध्यक्ष जितेको छ ।

एउटा वडामा भने स्वतन्त्र उम्मेदवारले जितेका छन । कीर्तिपुरमा २०७४ सालमा मेयर र उपमेयर दुबै पदमा एमालेले जितेकोमा यसपटक काँग्रेसले बाजी मारेको हो । यस्तै काठमाडौं उपत्यकाभित्रकै अर्को नगरपालिका तारकेश्वरमा पनि कांग्रेस उम्मेदवार कृष्णहरि महर्जन मेयर पदमा विजयी हुनु भएको छ ।

उहाँले ११ हजार ९ सय ८८ मतसहित जीत हासिल गर्नुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्दी एमालेका रामेश्वर बोहराले ७ हजार ८ सय ८ मत पाउनुभयो । तारकेश्वरको उपमेयरमा पनि कांग्रेसकै सृजना बुर्लाकोटी विजयी हुनुभएको छ ।

यो नगरपालिकामा अघिल्लो चुनावमा एमालेले मेयर र उपमेयर जितेको थियो । यस्तै काठमाडौंकै दक्षिणकाली नगरपालिकामा पनि कांग्रेसकै मोहन बस्नेतले मेयर पदमा जित हासिल गर्नुभएको छ ।

Categorized in राष्ट्रिय