arin enterprises

राष्ट्रियसभा सदस्यमा नारायण दाहाल नियुक्त

SamacharDesk | २०७८ चैत्र २९, मंगलबार

राष्ट्रियसभा सदस्यमा प्रचण्डका पारिवारिक सदस्य नारायण दाहाललाई नियुक्त गरेको छ । दाहाललाई नियुक्त गर्न नहुने चर्काे विरोधका बाबजुद पनि मंगलवार राष्ट्रिय सभाको सदस्यको रुपमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबाट सपथ ग्रहण गर्नुभएकोछ ।

उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको परिवारिक सदस्य भएकै कारण उहाँले आफूले अवसरहरु गुमाउँदै आएको दाबी गर्नुभयो । राष्ट्रियसभा सदस्यको पद तथा गोपनियताको सपथ लिएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा दाहालले प्रचण्ड र आफु एकैदिन होलटाइमर भएर हिँडेको भन्दै निरन्तर पार्टीमा खटिरहेको बताउनुभयो ।

माओवादी सशस्त्र विद्रोहमा आफू मात्र नभइ परिवारका सबै सदस्य लागेको उहाँको भनाइ छ ।

नवनियुक्त सदस्य दाहालले देशको राष्ट्रियता, स्वाधिनता र राष्ट्रिय अखण्डताको लागि आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले आफुले राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र रहेर देशको राष्ट्रियता, स्वाधिनता र राष्ट्रिय अखण्डताका लागि भुमिका खेल्ने बताउनुभएको हो ।

उहाँले नेपाली जनताको भावना र चाहानालाई सम्बोधन गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बजेटको प्रक्रिया नजिकिन लागेको उल्लेख गर्दै बजेटलाई देशको समृद्धिको पक्षमा लगाउन लाग्ने पनि बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य दाहालले अहिले पार्टीहरु र जनप्रतिनिधिहरुप्रति आम जनतामा वितृष्णा पैदा हुदै गएकाले आफ्नो व्यवहारबाट ति धारणाहरुलाई बदल्ने पनि बताउनुभयो ।

उहाँले शान्ति प्रक्रियाका बाँकी रहेका कामहरुलाई निष्कर्षमा पुर्‍याउनुपर्ने महत्वपूर्ण काम रहेको पनि बताउनुभयो ।

Categorized in राजनीति