३१७ दिनपछि पृथ्वी फर्के नासाका अन्तरिक्षयात्री रुबियो
SamacharDesk | २०८० आश्विन १५, सोमबार

नासाका अन्तरिक्षयात्री डा. फ्राङ्क रुबियोले ३१७ दिनपछि पृथ्वीमा फर्केका छन् । यससँगै उनी अन्तरिक्षमा सबैभन्दा बढी समय बिताउने पहिलो अमेरिकी अन्तरिक्ष यात्री बनेका हुन् ।
रुबियो अन्य दुई रुसी अन्तरिक्ष यात्री सर्गेई प्रोकोपेव र दिमित्री पेटेलिनगै बुधवार पृथ्वीमा फर्किएका थिए ।
सन् २०२२ सेप्टेम्बर २१ मा आफ्ना दुई रुसी अन्तरिक्ष यात्रीका साथमा इन्टरनेसनल स्पेस स्टेसन पुगेका रुबियो २७ सेप्टेम्बरमा पृथ्वीमा फर्किएका हुन् ।
छ महिना बिताउने लक्ष्य राखेका रुबियो र उनका सहयात्रीहरुले प्रयोग गरेको अन्तरिक्षयान गत डिसेम्बरमा उल्कापिण्डसँग ठोक्दा त्यसमा रेडियटर लिक हुँदा त्यहाँ दोब्बरभन्दा बढी समय बिताउनु परेको थियो ।
सो यान अन्तरिक्षमा मर्मत गर्न नसकिने भएपछि त्यसलाई फिर्ता ल्याएर गत फेब्रुअरीमा मात्र मानवरहित क्याप्सुल पठाइएको थियो । त्यही क्याप्सुलमा सवार भएर यी तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका हुन् ।
कारणबस अन्तरिक्षमा बढी समय बिताउन बाध्य भए पनि त्यसबाट लामो समय माइक्रो ग्र्याभिटी वा अन्तरिक्षको बसाइबारे बुझ्ने मौका पाएको रुबियोले बताएका छन् ।
उनको लामो बसाइँको कारण आगामी दिनमा चन्द्रमा, मङ्गल ग्रह तथा अन्य बाह्य ग्रहमा अन्वेषण गर्न वैज्ञानिकलाई बाटो खुलेको नासाले उल्लेख गरेको छ ।
यसअघि लगातार ३५५ दिन अन्तरिक्षमा बिताएर अमेरिकी अन्तरिक्षयात्री वान्दे हेईले रेकर्ड बनाएका थिए ।
गुरुत्वाकर्षण नै नभएको ठाउँमा लामो समय बसेका कारण उनी पृथ्वीमा फर्केपछि हेरचाहका लागि एउटा रिकभरि टिम तयारी अवस्थामा राखिएको थियो ।
शरीरमा असर परेका कारण उनलाई रिकभरि टिमले यानबाट बाहिर निकालेको थियो ।
लामो समय अन्तरिक्षमा बिताउँदा अन्तरिक्ष यात्रीमा मांसपेशी पतन हुने, हड्डी खिइने, दृष्टि कम हुनुका साथै सन्तुलन बिग्रिने तथा मस्तिष्कको आकार परिवर्तन हुने जस्ता समस्या देखिन्छन् । अब उनीबाट मानव शरीर कसरी लामो समयसम्म अन्तरिक्षमा रहन सक्छ, मांसपेशी, मस्तिष्क तथा पाचन प्रणालीमा के कस्ता असर परेका छन् भन्ने बारेमा जानकारी मिल्ने बताइएको छ ।
रुबियोले पहिलो पटक अन्तरिक्ष यात्रा गरेकाले उनले पहिले यस्तो समस्याको सामना गरेका थिएनन् । उनले अन्तर्वार्तामा आफूलाई पहिलेकै अवस्थामा पुग्न दुईदेखि छ महिनाको समय लाग्ने बताएका छन् ।
रुबियो तथा अन्य दुई रुसी अन्तरिक्ष यात्रीले सो समयमा पृथ्वीलाई पाँच हजार ९३६ पटक परिक्रमा गरेका छन् ।
यो भनेको २५ करोड ३० लाख किलोमिटर दूरी हारारी हो । नासाका अनुसार यो दुरी चन्द्रमामा ३२८ ट्रिप आउन र जान लाग्ने दूरी हो ।
Categorized in अन्तर्राष्ट्रिय