arin enterprises

स्कटल्यान्डलाई हराउँदै नेदरल्यान्ड्स विश्वकपमा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ २२, शुक्रबार

नेदरल्यान्ड्सले आइसीसी विश्वकप स्थान बनाएको छ । नेदरल्यान्ड्सले आइसीसी विश्वकप छनोटको सुपर सिक्स खेलमा स्कटल्यान्डलाई चार विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको हो ।

बिहिबार भएको खेलमा स्कटल्यान्डले दिएको २ सय ७८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४२ दशमलब ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

नेदरल्यान्ड्सको जितमा अलराउन्डर बास डि लिडेले सानदार प्रदर्शन गरे । उनले ९२ बलमा ७ चौका र ५ छक्कासहित १ सय २३ रनको सानदार शतकीय पारी खेले ।

त्यस्तै सकिब जुलफिकर ३२ बलमा ३ चौका र १ छक्कासहित ३३ रन बनाएर अविजित रहे ।  विक्रमजित सिंह ४९ बलमा ६ चौकाको सहयोगमा ४० रन बनाए । वेस्ली ब्यारेसी ११ र तेजा निडामानिरुले १० रन बनाए ।

यस्तै कप्तान स्कट एडवार्ड्सले २३ बलमा ३ चौकासहित २५ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७७ रन बनायो ।

स्कटल्यान्डका लागि ब्रेन्डम म्याकमुलनले १ सय १० बलमा ११ चौका र ३ छक्काको सहयोगमा १ सय ६ रन बनाए । म्याकमुलनले ओडिआई करियरको आफ्नो दोस्रो शतक १ सय ६ बलमा पूरा गरेका थिए ।

कप्तान रिचि बेरिंग्टनले ८४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ६४ रनको अर्धशतकीय ईनिङ खेले । टोमस म्याकिन्टोसले २८ बलमा ५ चौकाको सहयोगमा अविजित ३८ रन बनाए ।

ओपनर क्रिस्टोफर म्याकब्रिडले ३८ बलमा ६ चौकाको सहयोगमा ३२ रन बनाए । क्रिस ग्रेभ्सले १५ बलमा १८ रन बनाए ।

नेदरल्यान्ड्सका लागि बास डि लिडले १० ओभरमा ५२ रन खर्चिएर ५ विकेट लिए । रायन क्लायनले २ तथा लगेन भान बिकले १ विकेट लिएका थिए ।

Categorized in स्पाेर्ट्स