arin enterprises

दर्ता प्रक्रियामा नेपाल सहकारी बैंक

SamacharDesk – समाचारडेस्क | २०७८ माघ २५, मंगलबार

नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रिया अगाडि बढेको छ ।

प्रस्तावित बैकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले प्रस्तावित बैंकको अवधारणापत्र र सम्भाव्यता अध्ययनको विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरलगायतसमक्ष प्रस्तुतीकरण दिँदै दर्ता प्रक्रियाको थालनी गरेको जनाएका हुन् ।

प्रतिस्पर्धात्मक मुलुकमा एउटा मात्र बैंकले करिब ३० हजार सहकारीको कारोबार र अन्य आर्थिक क्रियाकलाप गर्न नसक्ने भएपछि नेपाल सहकारी बैंक दर्ता प्रक्रिया सुरु गरेको अध्यक्ष भण्डारीले जनाएका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नरले उक्त बैंक दर्ताको प्रक्रिया अविलम्ब अगाडि बढाइने आश्वासन दिएका छन् ।

साढे दुई अर्ब रूपैयाँ चुक्ता पुँजी प्रस्ताव गरिएको नेपाल सहकारी बैंक सञ्चालनमा आएपछि यसलाई देशव्यापी रूपमा विस्तार गरिने अध्यक्ष भण्डारीले जनाएका छन् ।

सहकारी ऐन २०७४ को दफा १२ मा सहकारी बैंकले संस्था वा सङ्घको बचत स्वीकार गर्ने, त्यस्तो संस्था वा संघलाई ऋण प्रवाह गर्ने वा बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्य लिई सस्था वा सङ्घ आपसमा मिली नेपाल राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिई सहकारी बैंकहरू गठन गर्न सकिने व्यवस्था गरेको छ । सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ ले व्याख्या गरेअनुसार बैंकको दर्ता प्रक्रिया सुरु भएको अध्यक्ष भण्डारीले जनाएका छन् ।

“सहकारी ऐन र नियमावलीमा भएको व्यवस्थाअनुसारका प्रक्रियाहरू पूरा गरेपछि सहकारी विभागमा दर्ता गरी नेपाल राष्ट्र बैंकको अनुमति लिएर बैंकिङ कारोबार सुरुवात गर्ने प्रावधान छ,” उनले भने, “सोही प्रावधानअनुसार बैंक दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।”

सहकारी नियमावली २०७५ को नियम ५ ले सहकारी बैंकको गठनमा सबै प्रदेशको प्रतिनिधित्व हुने गरी कम्तीमा ५०१ संस्था वा संघहरू हुनुपर्ने, सहकारी बैंकको शेयर पुँजी नेपाल राष्ट्र बैंकले तोकेबमोजिम हुने, आवेदन दिने संस्था वा संघहरूको संयुक्त शेयर पुँजी कम्तीमा तीन अर्ब रूपैयाँ हुनुपर्ने, संयुक्त संस्थागत पुँजी कम्तीमा ५० करोड रूपैयाँ हुनुपर्ने, आवेदक संस्था वा संघ विगत तीन वर्षदेखि निरन्तर नाफामा सञ्चालन भएको हुनुपर्ने र सहकारी बैंक गठन गर्दा राष्ट्रिय सहकारी महासंघको समेत सिफारिस आवश्यक पर्ने व्यवस्था छ । यसअनुसार सबै प्रक्रिया पूरा गरी सहकारी महासंघ, विभाग र नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्रक्रिया अघि बढेको अध्यक्षले भण्डारीले जनाएका छन् ।

Categorized in बिजनेस