अमेरिकामा नेपाल सम्वत ११४६ को भव्यताका साथ स्वागत
SamacharDesk – समाचारडेस्क न्यूयोर्क रिपोर्टर | २०८२ कार्तिक ११, मंगलबार
अमेरिकाको न्युयोर्कमा नेपाल सम्वत ११४६ को भव्यताका साथ स्वागत अमेरिकाको न्यूयोर्कमा नयाँ वर्ष नेपाल सम्वत ११४६ लाई भव्यताको साथ स्वागत गरिएको छ ।
नेवाः गुठी न्युयोर्क र नेवाः नखः न्युयोर्कले गत शनिवार (अक्टोवर २५ २०२५) का दिन अमेरिकाको न्युयोर्कस्थित ज्याक्सन हाईटको डाइभर्सिटी प्लाजामा न्हू दँको भिंतुना र्यालीको आयोजना गरिएको छ ।
र्याली अघि आयोजित औपचारिक कार्यक्रममा नेवाः गुठीका अध्यक्ष विजय मान सिंले उपस्थित सबैलाई नयाँ वर्षको शुभकामना दिँदै शंखधर साख्वाःले तत्कालिन समयमा सबैको ऋण तिरेर सबैजनालाई ऋणमुक्त गरेको अवसरमा नेपाल सम्वत सञ्चालनमा आएको जानकारी दिए ।
हिमालयन बुद्धिस्ठ कम्युनिटीका अध्यक्ष हृदय तुलाधर, न्युयोर्क सिटी डिस्ट्रिट ३ का काउन्सलर बिरेन्द्र मानन्धरले नेपाल सम्वतको महत्त्व प्रकास पारे । नेपाल सम्वत नयाँ वर्षको समारोह र र्यालीको विकासक्रमको बारेमा डा. मीम लाल नकर्मीले जानकारी गराएका थिए ।
आदिवासी जनजाति महासंघ, अमेरिकाका अध्यक्ष तोरण गुरुङ्घले नेपाल सम्वत, कुनै वर्ग, जातजाति विशेषको मात्रै नभै सम्पूर्ण नेपालीकै राष्ट्रिय सम्वत भएको विचार राखे ।
त्यस्तै नेवाः नखः न्युयोर्कका अध्यक्ष डा. नरेश मान शाक्यले नेपाल सम्वत् नयाँ बर्षलाई उत्सवको रुपमा मनाउने कसरी सुरु भयो र नेपाल सम्वत आन्दोलनबाट प्राप्त उपलब्धिको जानकारी दिए ।
कार्यक्रममा नेवाः गुठीका सदस्य राजेन्द्र महर्जन, नेवाः नखः न्युयोर्कका महासचिव तुलसी नारायण चित्रकार र नेवाः गुठी न्युयोर्कका महासचिव सुवर्ण शाक्यलगायतले पनि न्हूदँको शुभकामनासहित आआफ्ना विचार राखेका थिए ।
कार्यक्रममा सबैलाई नेवाः परम्परा अनुसार टीका, फूल र कोखा वितरणका साथै अण्डा सगुनसमेत दिइएको थियो ।
औपचारिक कार्यक्रम पछि भिंतुना र्याली निकालिएको थियो । शंखधर साख्वाको फोटोसहितको व्यानर, विभिन्न प्लेकार्डका साथमा निकालिएको र्यालीले न्युर्योकको ज्याक्सन हाइट्स् परिक्रमा गरेको थियो ।
र्यालीमा परम्परागत भेषभुषा, बाजागाजा र विभिन्न झाँकीसहित संयौको संख्यामा सहभागीता थियो ।

र्यालीको क्रममा अमेरिकन नागरिकको साथै अमेरिकामा बसोबास गर्ने अन्य देशका नागरिकहरुले पनि भिंतुना कार्यक्रम र नेपाल सम्वतको बारेमा सोधपुछ गरेको नेवाः नखः न्यूयोर्कका अध्यक्ष डा. शाक्यले बताए ।
यमपञ्चकको चौथौ दिन म्हपूजा अर्थात् गोवर्धन पूजाको दिनमा सुरु हुने नेपाल सम्वतको हरेक वर्ष नियमित रुपमा देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गर्दै भव्यताका साथ मनाईँदै आएको छ ।
२०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको पालामा नेपाल सम्वतलाई नेपाल सरकारले नेपालको राष्ट्रिय सम्वत्को मान्यता दिएको थियो ।
Categorized in संस्कृति




