arin enterprises

त्रिदेशीय टी–२० को उपाधि नेपालले जित्यो

SamacharDesk – Aakash Rajopadhyaya | २०७८ चैत्र २१, सोमबार

नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

नेपाल, पीएनजी र मलेसिया तीनदेश सम्मिलित सिरिजमा नेपालले अपराजित रहँदै उपाधि जितेको हो । नेपालका लागि सन्दीप लामिछानेको कप्तानीमा यो पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको थियो ।

नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३८ बलमा पाँच चौकाको सहयोगमा अविजित उक्त रन बनाए। करण केसीले अविजित ३३, ओपनरद्वय आशिफ शेखले २९ र कुशल भुर्तेलले २५ रन बनाए । आदिल अन्सारीले १५ रन जोडे ।

रोहित पौडेलले दुई तथा आरिफ शेख र दिलीपनाथ शून्य रनमा आउट भए । बलिङमा पीएनजीका सेमो कामेअले तीन, कवुअ मोरेया, रिले हेकुरे र चाद सोपरले एक एक विकेट लिएका थिए ।

जितका लागि एकसय ६९ रनको विजयी लक्ष्य पछ्याएको पीएनजी १६।१ ओभरमा सबै विकेटको क्षतिमा ११८ रनमा समेटियो । पीएनजीका लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाउनुभयो । चाल्स अमिनीले १५ रन जोड्नुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा पीएनजीलाई सस्तैमा समेट्न बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले ह्याट्रिक सहित चार विकेट लियो । अलराउन्डर दीपेन्द्र टी–२० मा नेपालका लागि सर्वाधिक हजार रन बनाउने खेलाडी समेत बने । खेलमा एक शतक र चार अर्धशतकसहित एक हजार रन पूरा गरे।

उनीपछि पूर्वकप्तान पारस खड्काको नाममा ३३ खेलमा एक शतक र चार अर्धशतकसहित सात सय ९९ रन छ । यसैगरी करण केसीले ह्याट्रिक विकेट लिए। कप्तान सन्दीप लामिछानेले दुई विकेट झारेका थिए।

Categorized in स्पाेर्ट्स