विष्णुमायाको गीत ‘जितः ख्वयेकाः’ को म्यूजिक भिडियो सार्वजनिक
SamacharDesk – बिराज | २०७८ आषाढ ५, शनिबार

कोभिड महामारी नियन्त्रणमा लिन निषेधाज्ञा जारी रहेको अवस्थामा मनोरन्जन क्षत्रेको अन्य क्षेत्र ठप्प रहँदा म्यूजिक भिडियो क्षेत्र भने गतिशिल देखिएको छ ।
दिनहुँ जसो युट्युबमार्फत नयाँ नयाँ गीतको लिरिकलको साथै अफिसियल म्यूजिक भिडियोहरुसमेत सार्वजनिक भइरहेका छन् । यसैक्रममा आज पनि नेपालभाषाको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गायिका विष्णुमाया व्यन्जनकारको गीत ‘जितः ख्वयेकाः छ वने फइमखु’ को म्यूजिक भिडियो आज सार्वजनिक भएको छ । जुममार्फत भर्च्युअल कार्यक्रम गर्दै आज गीतको म्यूजिक भिडियो लोकार्पण गरिएको छ ।
कलाकार, पत्रकारहरुको उपस्थितीमा भएको भर्च्युअल कार्यक्रममा गीतलाई सार्वजनिक गरिएको थियो ।
निषेधाज्ञामा पनि मनोरन्जन क्षेत्र गतिशिल रहेकोमा खुसी व्यक्त
कार्यक्रममा बोल्दै वरिष्ठ सिने पत्रकार साथै नेपालभाषा म्यूजिक भिडियोका प्रथम निर्देशक विजयरत्न तुलाधरले लकडाउनमा पनि नेपालभाषाको म्यूजिक भिडियोको राम्रो गति लिइरहेकोमा खुसी व्यक्त गर्नुभयो ।
पत्रकार दर्शनवीर शाक्यले गीतको शैलीलाई हेर्दै दर्शकलाई सोही अनुसारको समय अनुभुति पनि दिलाउन सक्नुपर्ने सुझाव राख्नुभयो ।
‘गीतको शैली पराम्परागत ढङ्गको छ भने म्यूजिक भिडियोमा पनि सोही अनुसारको केही समय अगाडीकै वातावरण देखाउनुपर्ने हुन्छ । आधुनिक शैलीको गीतलाई फेरी परम्परागत ढङ्गको प्रस्तुति नसुहाउन सक्छ’ शाक्यको भनाई हो ।
त्यसैगरी पत्रकार बिराजकाजी राजोपाध्यायले म्यूजिक भिडियो वा चलचित्र निर्माण गर्दा निर्देशकले तडकभडक भन्दा सरलता र जीवन्ततामा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।
‘म्यूजिक भिडियो वा चलचित्र हेर्दा दर्शकले त्यसका पात्रहरुमा आफ्नै प्रतिबिम्ब देखे वा खोजे निर्देशक सफल भयो भन्न सकिन्छ’ राजोपाध्यायले भन्नुभयो ।
गायिका व्यन्जनकारले गीतका संगीतकार स्वर्गीय पद्मज्योती बज्राचार्यको ज्ञानमाला भजनको साथै आधुनिक गीत संगीत क्षेत्रमा योगदानको बारे चर्चा गर्नुभयो ।
कार्यक्रममा कलाकार सुरज व्यन्जनकार, स्वतन्त्र संसार महर्जनले पनि आआफ्नो भनाई राखेका थिए भने म्यूजिक भिडियोका मोडलहरु अनुप शाक्य, सुषमा बज्राचार्य, रोजिना सुवाल, क्यामेरा निर्देशक र भिज्युअल एडिटर अमर चित्रकार, निर्देशक सुरज नापितले आ आफ्नो अनुभव सुनाएका थिए ।
स्वर्गीय मन्त बज्रले रचना र जुगल डंगाेलकाे संगीत संयाेजन रहेको गीतको म्युजिक भिडियोको कथावस्तु सत्यघटनामा आधारित रहेको बताइएको छ ।
गीतको छायाङ्कन फर्पिङ्ग, चोभार, हरिसिद्धिलगायतका स्थानमा गरिएको छ ।
Categorized in पेजथ्री