समूह ‘सी’ वाट नेदरल्यान्ड्स र अष्ट्रिया अन्तिम १६ मा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ ८, मंगलबार

समूह ‘सी’ वाट नेदरल्यान्ड्स र अष्ट्रिया युरो २०२० को अन्तिम १६ मा पुगेको छ ।
सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३–० गोलले पराजित गरेपछि समूह ‘सी’ को विजेता बन्दै नेदरल्यान्ड्स अन्तिम १६ मा पुगेको हो ।
नेदरल्यान्ड्सको जितमा डिपाएले खेलको २४ औं मिनेटमा पहिलो गोल गरे । जर्जिनियो विज्नल्डमले ५१औं र ५८औं मिनेटमा गरी दुई गोल गर्दा नेदरल्यान्ड्सले सहज जित निकालेको थियो ।
यो जितसँगै नेदरल्यान्ड्सले समूह चरणमा शतप्रतिशत जित निकालेको छ ।
यता यहि समूहको अस्ट्रिया पनि युरो २०२० को अन्तिम १६ मा प्रवेश गरेको छ ।
सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा युक्रेनलाई १–० गोलले पराजित गरेपछि समूहको उपविजेता बन्र्दै अस्ट्रिया अन्तिम १६ मा पुगेको हो ।
अस्ट्रियालाई जित दिलाउने क्रममा बाउमगान्टरले खेलको २१औं मिनेटमा गोल गरेका थिए । यो जितसँगै अस्ट्रिया समूह ‘सी’ मा दोस्रो भएको छ ।
समूह ‘सी’ मा ३ खेलमा ९ अंक जोड्दै नेदरल्यान्ड्स शीर्ष स्थानमा छ ।
यस्तै ३ खेलमा ६ अंक जोड्दै अस्ट्रिया दोस्रो स्थानमा छ भने समान खेलमा ३ अंक जोडेको युक्रेन भने तेस्रो स्थानमा छ । युक्रेनले अब उत्कृष्ट तेस्रो टिम बनेर अन्तिम १६ मा पुग्नका लागि कुर्नु पर्ने हुन्छ ।
सबै खेलमा पराजित भएको नर्थ म्यासेडोनिया भने बाहिरियो।
Categorized in स्पाेर्ट्स
