arin enterprises

उड्ड्यन प्राधिकरणको नयाँ नियम लागू

SamacharDesk – राम डंगोल | २०७९ जेठ १८, बुधबार

नेपाल नागरिक उड्ड्यन प्राधिकरणले उडानका लागि बुधबारदेखि नयाँ नियम लागू गरेको छ । नयाँ नियममा प्रस्थान गर्ने र गन्तव्यमा पुग्ने रुटको मौसम सफा रहेको खण्डमा मात्रै विमानलाई उडान अनुमति दिइने छ ।

हालै तारा एयरको विमान दुर्घटनामा परी २२ जनाको मृत्यु भएपछि प्राधिकरणले उडानको अनुमतिमा कडाइ गरेको हो । यस्तो निर्णय भिएफआर (भिजुअल फ्लाइट रुल्स) बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागु हुनेछ ।

उड्डयन क्षेत्रमा भिएफआर भन्नाले आँखाले हेरेर विमान उडाउने र ल्याण्ड गर्ने विधि भन्ने बुझिन्छ । तर आईएफआर (इन्स्ट्रुमेण्ट फ्ल्याइट रुल्स) विधि जडान भएको विमान र विमानस्थलमा भने यो नियम लागु हुने छैन ।

यसैगरि प्रधिकरणले हेलिकोप्टरको उडानमा पनि दुई जना पाइलट राख्नुपर्ने नियम लागु गरेको छ । एउटा मात्रै इन्जीन भएको हेलिकोप्टरको हकमा भने प्राधिकरणले तोकेका अन्य शर्तहरु पुरा गर्नुपर्नेछ ।

सरकारले उडानका लागि नयाँ नियम लागू गरेको पहिलो दिनमै यसको प्रभाव आन्तरिक उडान परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज विहानभर आन्तरिक उडानहरु अवरुद्ध भएका छन् ।

नागरिक उड्डयन प्राधिकरणले प्रस्थान, उडान मार्ग र गन्तब्यको मौसमबारे प्रष्ट भएपछि मात्रै उडान अनुमति दिने नियम लागू गरेकाले आन्तरिकहरु प्रभावित भएका हुन ।

माउन्टेन फ्लाइटहरु आज हुन नसकेको विमान कम्पनीहरुले बताएका छन् । विहान ६ बजे नै गर्नुपर्ने माउन्टेन फ्लाइटका लागि कसले अनुमाति दिने भन्ने अन्यौल हुँदा २ घण्टा भन्दा बढी ढिलाई भएको बुझिएको छ ।

मौसमको अवस्थाबारे जल तथा मौसम विज्ञान विभागले रिपोर्ट नदिंदा नागरिक उडड्यन प्राधिकरणले उडानको अनुमति नदिएको बताइएको छ ।

प्राधिकरणले भिजुअल फ्लाइट सिष्टम (भिएफआर) प्रणाली जडान भएका विमानस्थलका लागि मात्र यो नियम लागु गर्ने निर्णय गरेको छ ।

यो नियम अनुसार हिमाली र पहाडी क्षेत्रका विमानस्थलहरुमा उडान गर्दा मौसम सफा रहेको पक्का गर्नुपर्ने छ ।

Categorized in राष्ट्रिय