तुलसीको बिउ छर्दै निर्जला एकादशी मनाइयो
SamacharDesk | २०८० जेठ १७, बुधबार

आज निर्जला एकादशी । वैदिक सनातन धर्मावलम्बीहरुले आज आ–आफ्ना घरमा रहेका तुलसीको मठमा तुलसीको बिउ छर्ने गर्दछन् ।
प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन रोपेको बीउबाट उम्रिएको बिरुवा एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन सार्ने गरिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ ।
निर्जला एकादशीको दिन विहानै तुलसीदल छर्ने कार्य गरी श्रीविष्णुको पूजा गरिन्छ । तुलसीको महत्व जीवनको उदयदेखि अन्त्यसम्म रहेको छ । कुश, तुलसी, पीपलको महत्व पूर्वीय संस्कृतिमा विश्वास गर्नेहरुमा लागि जीवनको ह्रदय झैँ महत्व रहेको कुरा वैदिक साहित्यमा सर्वत्र चर्चा भएको पाइन्छ ।
भए मोठ नभए गमलामा पूर्वतिर तुलसी वीजरोपण गर्नु पर्छ । तुलसी, पिपलमा अक्सिजन धेरै हुन्छ र आयुर्वेदीय गुण पनि । आयुर्वेदिक रूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ ।
निर्लज एकादशीको महत्वबारे प्रकाश पार्दै जानकारहरु यसो भन्छन्, कलियुगमा मानिसको उमेर समय निकै नै थोरै भएकाले यस्ता विशेष दिनहरु पहिल्याई पुण्य लुट्ने प्रयास गर्नु सर्वोत्तम हुन्छ ।
फलाहार, जलाहार वा निराहारबाट एकादशी उपासना गर्ने गरिन्छ । निर्जला एकादशी सकेमा जल समेत ग्रहण नगरेर गरिने उपासना हो ।
नखाएर मात्रै व्रत उपासना हुने भने होइन । मुख्यकुरा वाणीको व्रत, श्रवणको व्रत, आचरण, तन, मन, धनको पवित्रता, इन्द्रिय निग्रह, देवपूजा, हवन, जप, अनुष्ठान, दान, क्षमाशीलता, सवै नै उपासनाका स्वरुपहरु हुन् ।
एकादशीमा अन्न खास गरी चामलमा मानिसका दुष्कर्म (पाप) हरु बस्ने भएकाले अन्न नै ग्रहण गर्नु परे पनि चामलको भात र परिकार ग्रहण नगर्ने विधान छ ।
महिनामा एक दुई दिन अन्न त्यागनाले शरीरको पाचन क्षमता वृद्धि भई शरीर निरोगी हुन्छ र मुख्य जठराग्नि पनि बलियो हुन्छ ।
Categorized in संस्कृति