arin enterprises

पत्रकार महासंघ उपत्यका प्रदेशको आन्दोलन स्थगित

SamacharDesk – बिराज | २०८० जेठ १०, बुधबार

विज्ञापन बोर्ड नेपालबाट पत्रपत्रिकालाई लोककल्याणकारी विज्ञापन बापतको रकम कटौती विरुद्ध नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको अगुुवाईमा जारी आन्दोलन स्थगित भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञापन बापतको रकम नियमित हुने प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित गरिएको हो ।

विज्ञापन बापतको रकम कटौती विषयलाई लिएर हिजो उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झा नेतृत्वको टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई मिति ज्ञापन पत्र बुुझाएको थियो ।

सो क्रममा मन्त्री शर्माले सरकार र आफू लोककल्याणकारी विज्ञापन बापतको रकम कटौती गर्ने पक्षमा कहिल्यै नभएको र भविष्यमा समेत नरहने बताउँदै यसको निरन्तरता रहने प्रतिवद्धता जनाएकी थिइन् ।

यसै क्रममा आज संचारमन्त्री शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीबाट प्रेस नोट जारी गर्दै लोककल्याणकारी विज्ञापन बापतको रकम नियमित हुने मन्त्रीको प्रतिवद्धतालाई सार्वजनिक गर्नु भएको छ ।

योसँगै महासंघ उपत्यका प्रदेश समितिले एक विज्ञप्ती जारी गर्दै आन्दोलन स्थगनको घोषणा गरेको हो ।

‘कोभिडपछिको आर्थिक मन्दीको मारमा नेपाली सञ्चार जगतले समस्या झेलिरहेको अवस्थामा बोर्डले अकस्मात लोककल्याणकारी विज्ञापन बापतको रकम कटौती गरे पनि मन्त्रीको पहलकदमीमा स्रोतको सुनिश्चितता गरी नियमित गरिने प्रतिवद्धता आएकाले हामी आभार व्यक्त गर्दछौं’ समितिका महासचिव टेनिस रोक्काबाट जारी विज्ञप्तीमा लेखिएको छ ।

साथै, समितिले लोककल्याणकारी विज्ञापन बापतको रकम कटौती विरुद्धको आन्दोलनमा साथ सहयोग र सहकार्य गर्ने विभिन्न संघ संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत सम्पूर्णमा धन्यवाद व्यक्त गरेको छ ।

Categorized in समाज
SKIP THIS maharjan complex bumper adv