बोडेको कुमारी मन्दिरको स्वरुप फेरीयो
SamacharDesk – बिराज | २०७७ श्रावण ७, बुधबार

मध्यपुर थिमि नगरपालिका बोडे ८ नम्बर वडामा अवस्थित कुमारी मन्दिर ।
बोडेको निकै ठुलो महत्व बोकेको पीठ हो यो ।
बिस्केट जात्राको अवसरमा बैसाख १ गते राती र २ गते जिब्रो छेड्ने जात्रा सम्पन्न भएपछि यहाँ कुमारीको जात्राले भव्यता दिन्छ ।
अरु बेला फेरी सुनसान ।
निकै महत्वपूर्ण मानिएको यो पीठ विगतका दिनमा सुनसान रहने गथ्र्यो । अन्य ठाउँको त कुरै छोडौं, बोडेवासी समेत आवश्यक बेलामात्र यहाँ पुग्ने गर्थे ।
पूजाको लागि वा पर्व विशेष बाहेक यहाँ जानुको अरु कुनै कारण पनि त थिएन ।
तर अहिले यहाँको वातावरण फेरीएको छ ।
अब त यहाँ बोडेबासीहरुको थकाई मेट्ने स्थान त बनेको छ नै, साथमा उपत्यकाका विभिन्न ठाउँमा घुम्न आउने समेत निकै बढेको छन् ।
लकडाउनको समयमा नै यहाँ मध्यपुर थिमि, भक्तपुरको साथै काठमाडौं, ललितपुरबाट समेत गरेर दिनकै करीब ३ सयको संख्यामा घुम्न आउनेहरु पुगिरहेका हुन्छन् ।
विगतमा अव्यवस्थित, फोहर भइरहने यो ठाउँ अहिले निकै मनोरम स्थानको रुपमा विकास भएको छ ।
मन्दिर परिसर १० रोपनी जग्गा सिमाङ्कन गरी यहाँको वातावरणको सुधार गरिएको छ ।
मन्दिर परिसरमा पर्खाल लगाउनुका साथै मन्दिर परिसर भित्रको डबलीको मर्मत गरिएको छ ।
यसको साथमा परिसरमा ढुङ्गा छाप्नुका साथै घाँस ओछ्याएर पार्कको रुप दिइएको छ ।
मन्दिरसँगै एउटा पाटी जिर्ण रुपमा थियो । र कुमारीको जात्राको दौरान उक्त पाटीले अवरोध खडा गरे झैं पनि हुने गथ्र्यो ।
अब त्यो पाटीलाई केही पछाडी सारी जिर्णोद्धार गरी आकर्षक रुप दिइएको छ ।
आकर्षक पानीको फोहरासहितको पोखरीले मन्दिर परिसरको सौन्दर्यलाई अझै बढाएको छ ।
पर्खाल लगाउने र डबली मर्मतको लागि भनेर मध्यपुर थिमि नगरपालिकाबाट १ करोड बजेट छुट्याएर काम शुरु गरिएको थियो ।
पछि यी सबै काम सम्पन्न भएर कुमारी मन्दिर परिसरले नयाँ मनमोहक स्वरुप लिइसकेपछि करीब १ करोड ६५ लाख खर्च भएको कुमारी मन्दिर परिसर उपभोक्ता समितिका दिलकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
गएको २०७६ माघ १५ गतेबाट मन्दिर परिसर सुधारको कामको लागि आर्थिक सहयोग मध्यपुर थिमि नगरपालिकाबाट भएको थियो भने स्थानीय बासिन्दाबाट जन श्रमदान भएको थियो ।
सुधारको सम्पूर्ण कार्य सम्पन्न भएर गत असार ३१ गते बुधबार एक कार्यक्रमका बीच मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले मन्दिर परिसरको उद्घाटन गर्नुभएको थियो ।
‘अहिले त पुरै देश संक्रमणको डरत्रासमा छ । तैपनि दिनहुँ ३ सयको हाराहारीमा मान्छेहरु यहाँ घुम्न आउनेहरु बढेका छन्,’ उपभोक्ता समितिका प्रजापतिले भने । ‘यो मन्दिर परिसरको सुधार भएसँगै यसले आन्तरिकको साथै बाह्य पर्यटकहरुलाई आकर्षित गर्नेमा हामी आशावादी भएका छौं ।’
Categorized in समाज