arin enterprises

अबैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

SamacharDesk – बिकाश | २०७७ भाद्र २०, शनिबार

पर्साका विभिन्न ठाउँमा अवैध लागू औषधसहित ५ जना पक्राउ परेका छन् । 

पर्सा जिल्ला छिपहरमाई गाउँपालिका २ बस्ने ३५ वर्षीय गोखुल महत्तो केवट र सोही ठाउँ बस्ने २० वर्षीय सुजित महत्तो केवटलाई ५ केजी अबैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी टिउकीबाट खटिएको प्रहरी टोलीले बिआर २२ एक्यु ०४१३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला परी पक्राउ गरेको हो ।

यसैगरी पर्सा, वीरगंज महानगरपालिका २८ बगही बस्ने २० बर्षीय रुपेश सहनीलाई १० केजी अबैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा टिनको ड्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिणामको गाँजा फेला पारी सहनीलाई पक्राउ गरेको हो ।

त्यस्तै, पर्सा वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट ४ ग्राम अबैध लागूऔषध खैरो हेरोईन सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका २४ बस्ने २० बर्षीय शिव साह कानु र सोही महानगरपालिका १६ बस्ने कृष्ण भन्ने २० वर्षीय छोटु पाण्डे रहेका छन् । 

प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त परिणामको लागूऔषध सहित फेला परी पक्राउ गरेको हो ।

त्यसैगरी चितवन जिल्ला कालिका नगरपालिका ७ बाट ८ केजी ९० ग्राम अबैध लागूऔषध गाँजा सहित २ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा सोही नगरपालिका ६ बस्ने २१ वर्षीय अमृत बम्जन र सोही नगरपालिका ७ बस्ने २० वर्षीय सबिन घले रहेका छन् । 

विशेष सूचनाको आधारमा प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरी टोलीले कालिका नगरपालिका ९ शक्तिखोरबाट जुटपानीतर्फ जाँदै गरेको ‘अनटेस्ट’ लेखिएको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरुलाई उक्त परिणामको गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

साथै, मोरङ जिल्ला बिराटनगर महानगरपालिका १६ दरैयाबाट लागूऔषध ४ बोतल डाइलेक्स डिसीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले बिराटनगर महानगरपालिका ११ बस्ने ४९ वर्षीय जय गुरुङ, २५ वर्षीय छोटु पासवान, सोही महानगरपालिका ४ बस्ने ३० वर्षीय सरफराज आलम र २८ वर्षीय मिन्टु हुसेनलाई पक्राउ गरेको हो । 

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले को २४ प ७८३ र स.९ प ४५११ नम्बरका दुई मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका २१ कुर्थाबाट लागूऔषध २ सय १० पिस नाईट्रोभेट ट्याब्लेट सहित दुई जना पक्राउ परेका छन् । 

महोत्तरी सोनमा गाउँपालिका २ घर भएका २ जना किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी बिट कुर्थाबाट खटिएको प्रहरी टोलीले महोत्तरीबाट जनकपुरतर्फ जाँदै गरेको ज.१२ प ९९०४ नम्बरको मोटरसइकल जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी (पूर्व), बिनयी त्रिबेणी गाउँपालिका १ जोगिकुटी बस्ने २५ वर्षीय सबिन गुरुङलाई लागूऔषध १ एम्पुल नुर्फिन, १ एम्पुल डाइजेपाम, १ एम्पुल फेनारगन, २१ ट्याब्लेट स्पास्मो प्रोक्सिभन प्लस र अन्दाजी २५ ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यी सबै घटनाको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Categorized in अपराध