arin enterprises

ढुङ्गा हानी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

SamacharDesk – बिकाश | २०७७ कार्तिक ११, मंगलबार

भक्तपुरस्थित एक मेटल कारखानामा काम गर्ने एक पुरुषको हत्या अभियोगमा दुई जना पक्राउ परेका छन् ।

दुवाल मेटल कारखानामा पित्तलको भाडा बनाउने काम गर्ने भारतका ३५ वर्षीय शाहिव हुसैनको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

भारत उत्तर प्रदेश जयंतिपुर रोड अलि मस्जित मुरादावाद घर भएका हुसैनको हत्या अभियोगमा भक्तपुरस्थित इन्द्रायणी धातु उद्योगमा काम गरी बस्ने भारत उत्तर प्रदेशका १९ वर्षीय सानु अन्सारी र भक्तपुरस्थित दुवाल मेटल कारखानामा काम गरी बस्ने भारत उत्तर प्रदेशकै २३ वर्षीय सलमान खान रहेका छन् ।

भक्तपुर इँटापाकोको प्लानिङस्थित नरकटघारी खोल्सामा आइतबार बिहान हुसैन मृत अवस्थामा फेला परेका थिए ।

सोही घटनाको अनुसन्धान गर्ने क्रममा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा शनिबार ३ जना सँगै बसेर मादक पदार्थ सेवन गरेको र कारखाना फर्कने क्रममा नरकट घारी पुगेपछि सानु अन्सारीको प्रेमिकाको विषयमा शाहिव हुसैनसँग विवाद भएको खुल्न आएको प्रहरीले जनाएको छ ।

सोही विवादमा अनुचित शब्दहरू बोलेको विषयमा झगडा हुँदा हुसैनलाई दुवै जनाले ढुङगा प्रहार गरी हत्या गरेको खुल्न आएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

Categorized in अपराध