ललितपुरबाट अवैध रक्तचन्दन र पुरातात्विक मुद्रासहित ६ जना पक्राउ
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २२, सोमबार

ललितपुरको बाफलबाट रक्तचन्दन र पुरातात्विक मुद्राहरुसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
रक्तचन्दन जस्तो देखिने ३ केजी ६३ ग्राम तौल बराबरको २ थान काठको टुक्रा र पुरातात्विक प्राचीन जस्तो देखिने १३१८ मोरू १ लेखिएको १ थान त्रिकोण आकारको पुरानो नेपाली मुद्रा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले ललितपुर बस्ने सिन्धुली हरिहर गडी गाउँपालिका–८ ढाँडखोलाका २८ वर्षीय राज कुमार भन्ने हरि बहादुर मोक्तान, सिन्धुली पिपलमाडे गाउँपालिका–३ खुर्सानीबारीका ५० वर्षीय टिकराम तामाङलाई पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्ने अन्यमा काठमाडौंको पेप्सीकोला बस्ने नुवाकोटका ३१ वर्षीय प्रेम कुमार डंगोल, कलंकी बस्ने झापाका २४ वर्षीय सोबित आचार्य, धादिङका २१ वर्षीय शंकर ढाउन्याँ र काठमाडौं गोकर्णेश्वर बस्ने धादिङका २७ वर्षीय सुमन बस्नेत रहेका छन् ।
पक्राउ परेकाहरुमध्ये टिकाराम तामाङ, प्रेम वहादुर डंगोल, हरि वहादुर मोक्तान र सोवित आचार्यलाई वन ऐन अन्तर्गत कारवाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुर पठाइएको छ ।
त्यस्तै शंकर ढाउन्याँ र सुमन वस्नेतलाई प्राचीन स्मारक ऐन बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
Categorized in अपराध