arin enterprises

करिब ३८ तोला सुनका गहना चोरी गरेको अभियोगमा ५ जना पक्राउ

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २९, सोमबार

करीब ३८ तोला सुनका गहना चोरी गरेको अभियोगमा काठमाडौंका विभिन्न स्थानबाट ५ जनालाई पक्राउ गरिएको छ । काभ्रेपलाञ्चोक पाँचखालका गुञ्जमान तामाङको घरबाट करिब ३८ तोला सुनका गरगहनाहरु चोरी गरेकोे अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

गत शनिबार तामाङको घरभित्र दराजमा राखिएको उक्त धनमाल चोरी भएको थियो । सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बस्दै आएका ओखलढुंगाका २७ वर्षीय देवराज दाहाल र धुलिखेलका २३ वर्षीय राम तामाङ, काठमाडौं महानगरपालिका–११ बस्ने सिन्धुपाल्चोकका २४ वर्षीय रामचन्द्र चालिसे रहेका छन् ।

त्यस्तै काठमाडौंको बौद्ध बस्ने काभ्रेका १८ वर्षीय किशोर र काठमाडौं महानगरपालिका–६ बस्ने काभ्रेका १९ वर्षीय राजन तामाङलाई पनि पक्राउ गरीएको छ ।

राजन, १८ वर्षीय किशोर र राम तामाङलाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले काठमाडौंको ठमेलस्थित ड्र्यागन डान्सबारमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । साथै रामचन्द्रलाई कपनबाट र देवराजलाई कमलादीबाट पक्राउ गरीएको हो ।

रामचन्द्रबाट २ सय १० ग्राम र देवराजबाट २ सय ३७ ग्राम सुन जस्तो देखिन पहेंलो धातुको साथै उनीहरु दुवैबाट गरी २ हजार १ अमेरिकी डलर समेत बरामद गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको महानगरीय प्रहरी वृत्त लैनचौरले जनाएको छ ।

Categorized in अपराध