arin enterprises

लेनदेन विषयको विवादमा कोदालोले हानी हत्या

SamacharDesk – बिकाश | २०७७ पौष २९, बुधबार

काठमाडौंको थानकोटमा लेनदेनको विषयमा विवाद हुँदा कोदालोले हानी हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हत्या अभियोगमा चन्द्रागिरि नगरपालिका–२ मसिने बस्ने २३ वर्षीय रामकृष्ण तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो ।

तामाङले चन्द्रागिरी नगरपालिका–४ थानकोट घुमाउने बस्ने ५२ वर्षीय होम बहादुर सुधारको हत्या गरेको वृत्तले जानकारी गराएको छ ।

अनुसन्धानको क्रममा रामकृष्णले लेनदेनको विषयमा विवाद हुँदा कोदालोको बिँडले प्रहार गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरीलाई रामकृष्णले नै बोलाएका थिए । घुमाउनेस्थित टहराको आँगनमा होम बहादुर अचेत अवस्थामा रहेको भनी रामकृष्णले प्रहरीलाई खबर गरी बोलाएको थियो ।

प्रहरी घटनास्थलमा पुग्दा घाईते अवस्थामा रहेका होमबहादुरलाई उपचारका लागि शहिद मेमोरियल अस्पताल कलंकी पुयाइएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Categorized in अपराध