३२२ नयाँ संक्रमित थप, ३७४ निको
SamacharDesk – बिकाश | २०७७ माघ ५, सोमबार

नेपालमा पछिल्लो २४ घन्टामा कोभिड १९ का थप ३ सय २२ जना नयाँ संक्रमित भेटिएका छन् । ४ हजार ३ सय ६ वटा नमूनाको परिक्षण गरिएकोमा एक सय २४ महिला र एक सय ९८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको जम्मा संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको छ । कुल आरटी पिसिआर परिक्षण संख्या २० लाख १६ हजार ७ सय ५८ पुगेको छ ।
आज थपिएका नयाँ संक्रमितमध्ये एक सय ६३ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंबाट एक सय ४१, ललितपुरबाट १५ र भक्तपुरबाट ७ जना नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो पटक थप ३ सय ७४ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ६१ हजार ८ सय १८ जना संक्रमित निको भइसकेका छन् ।
थप ६ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ९ सय ६५ पुगेको छ ।
३ हजार ८ सय ६१ सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये एक हजार एक सय २ संस्थागत आइसोलेसनमा छन् भने २ हजार ७ सय ५९ जना होम आइसोलेसनमा छन् ।
सोलुखुम्बु, भोजपुर, नवलपरासी (पश्चिम), कालिकोट, रुकुमपश्चिम र मुगुमा सक्रिय संक्रमितको संख्या शुन्य छ भने ५ सय बढि सक्रिय संक्रमित काठमाडौंमा मात्रै छ । हाल काठमाडौंमा रहेका सक्रिय संक्रमितको संख्या २ हजार २ सय ५ रहेको छ ।
Categorized in राष्ट्रिय