ज्यानको धम्की दिएर पैसा असुल्न खोज्ने ३ जना पक्राउ
SamacharDesk – बिकाश | २०७७ माघ ५, सोमबार

ज्यानको धम्की दिँदै मोटो रकम असुल्न खोज्ने ३ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौं बागबजार मोडल हस्पिटल अगाडिबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं असन बस्नेहरु दोलखा मेलुङका १९ वर्षीय प्रदिप कार्की, दोलखा शैलुङका १९ वर्षीय सुरज भण्डारी र काठमाडौं काडाँघारी बस्ने दोलखा शैलुङकै २१ वर्षीय किरण कार्की रहेका छन् ।
अनुसन्धानको क्रममा उनीहरुले काठमाडौं उपत्यकाका विभिन्न व्यक्तिहरुलाई फोन तथा एसएमएस गरी ज्यानको धम्की दिई लाखौं रकम माग्ने गरेको देखिएको प्रहरीले बताएको छ ।
महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
ज्यानको धम्की दिएर पैसा असुल्ने गिरोह सक्रिय रहेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा प्रहरी सक्रिय भएको थियो ।
उनीहरुको साथबाट धम्क्याउन प्रयोग गरिएको ५ वटा मोबाइल तथा सीमहरु समेत प्रहरीले बरामद गरेको छ ।
थप अनुसन्धानका लागि उनीहरुलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको व्यूरोले जनाएको छ ।
Categorized in अपराध