नक्कली जग्गाधनी बनी जग्गा बेच्ने पक्राउ
SamacharDesk – क्राइम ब्यूराे | २०७७ माघ ७, बुधबार

नक्कली जग्गाधनी बनी जग्गा बेचेर लाखौं रुपैयाँ ठगेको अभियोगमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जग्गा किर्ते गरी बिक्री गरेर ७२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा मालपोत कार्यालय कलंकीमा नायव सुब्बा पदमा कार्यरत नुवाकोट ककनीका नारायण श्रेष्ठ र सोही कार्यालयका शाखा अधितकृत पदमा कार्यरत काठमाडौं टोखाका दिपक दाहाल रहेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले आज उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले मीना खड्काको नामको साविक थानकोट–५ को १ रोपनी ४ आना जग्गालाई नक्कली मीना खड्का बनी नक्कली जग्गाधनी पुर्जा र नागरिकता समेत देखाई बिक्री गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।
उनीहरु उपर थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।
Categorized in अपराध