रोकिएको एउटा परम्पराले फेरी निरन्तरता पायो चाँगुनारायण कलश यात्रामा
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७७ माघ १५, बिहिबार

हरेक पौष शुक्ल पुर्णिमा अनि श्रावण शुक्ल द्वादशीका दिन चाँगुनारायणको कलश चाँगुबाट हनुमानढोका तलेजु मन्दिर ल्याइन्छ । आज पनि ल्याइयो । वितेका केही वर्षहरुभन्दा आजको कलश यात्राको रौनक अलि बेग्लै देखिएको थियो ।
हरेक वर्ष यसरी चाँगुनारायणको कलश यात्राको क्रममा दायाँ बायाँ लक्ष्मी सरस्वतीको कलश हुन्थ्यो भने बीचमा चाँगुनारायणको कलश बोकेर चाँगुनारायणका मूल पुजारी हुन्छन् । विशेष किसिमको परम्परागत रातो टोपी लगाएर मूल पुजारीले चाँगुनारायणको कलश बोकेर आउँथे । तर यो विशेष किसिमको टोपी वितेका केही वर्षमा देखिएनन् ।
७२ सालपछि पुजारी साधारण ढाका टोपीमै देखिएका थिए । ७२ सालको भुकम्पमा चाँगुस्थित चाँगुनारायणका मूल पुजारी चक्रधरानन्द राजोपाध्याय बस्ने उनको निवास पुरै भत्कियो र त्यहि बेला उक्त टोपी पनि कता पर्यो वा पुरियो, भेट्टाउनै सकिएन । अनि वाध्यतावश ढाका टोपी नै चलाउनुपर्यो ।
‘त्यो टोपी खोज्न धेरै प्रयास गरीयो, तर हरेक प्रयास विफल भयो,’ चाँगुनारायणका मूल पुजारी राजोपाध्यायले भने । ‘भुकम्पले घर पुरै भत्काइदियो, कता पुरियो, के भयो खइ, भेट्टाउनै सकिएन ।’
तर आज कलश बोकेर आएका पुजारी आभाष धरानन्द राजोपाध्याय भने उस्तै परम्परागत शैलीकै रातो टोपीमा सजिएका थिए । आज उहि परम्परागत टोपीले फेरी चाँगुनारायणको कलश यात्रामा निरन्तरता पायो ।
लिच्छवीकालीन शैलीको यो टोपीले आज फेरी निरन्तरता पाएपछि आज कलश यात्रामा रौनक नै थपिएको थियो
७२ सालपछि यो टोपी आज पहिलोपल्ट प्रयोग भएको थियो भने आभाषले त पहिलोपटक नै लगाएका थिए ।
तर यो पहिला प्रयोग हुँदै आएको पुरानो टोपी भने थिएन । पुरानो टोपी हराएपछि पाटन पट्को निवासी नेपाल ज्योतिष परिषद् ललितपुर जिल्लाकी उपाध्यक्ष शुभद्रिका राजोपाध्यायले उस्तै खालको नयाँ टोपी बनाइदिएकी थिइन् ।
‘त्यो टोपी एउटा परम्परा हो, परम्पराले निरन्तरता पाउनुपर्छ भन्ने मेरो विचार हो’ राजोपाध्यायले भन्नुभयो । ‘परम्पराको निरन्तरतामा केही योगदान दिन सकें, खुसी लागेको छ ।’
लिच्छवीकालीन शैलीको यो टोपीले आज फेरी निरन्तरता पाएपछि आज कलश यात्रामा रौनक नै थपिएको थियो ।
माघ शुक्ल पुर्णिमाको दिन चाँगुनारायणको कलशलाई चाँगुबाट हनुमानढोका ल्याउनुपर्ने परम्परा अनुसार आज सो कलश यात्रा गरिएको हो । चाँगुनारायणसँगै देवी लक्ष्मी र देवी सरस्वतीको कलशलाई चाँगुदेखि नै हिँडेर हनुमानढोकासम्म ल्याउने चलन छ ।
कलश हनुमानढोका पुगेपछि चाँगुनारायणलाई फर्किन नदिइ काठमाडौंमा राख्ने भनेर स्थानीयवासीले माटाका भाँडाकुडा फुटाउने गर्छन् । माटाका भाँडाकुडा फुटेपछि अशुभ भएको भन्दै चाँगुनारायण फर्किन्नन् भनेर यसरी यस्तो गर्ने गरिएको सामाजिक विश्वास रहेको छ ।
कलशलाई चाँगुबाट डाँछी, गोकर्ण, जोरपाटी, चाबहिल, ज्ञानेश्वर, नक्साल हुँदै जमल पुगेपछि गुरुजु पल्टनसहित असनबाट इन्द्रचोक हुँदै हनुमानढोका लैजाने गरिन्छ ।
हनुमानढोकामा जीवित देवी कुमारीको उपस्थितीमा हनुमानढोका तलेजुका भुजाहारी राजोपाध्याय ब्राम्हणले विधिपुर्वक पूजा गरी भित्र्याउने गरिन्छ । यसरी कलश तलेजु भित्र्याउनुलाई लसकुस यायेगु भनिन्छ ।
कलश तलेजु भित्र्याइसकेर विधि अनुसार पूजा गरिन्छ । पूजा सम्पन्न भइसकेर हनुमानढोकाको त्रिशुल चोकमा धुनी बाल्ने गरिन्छ । चाँगुनारायणवासीलाई कलश हनुमानढोका पुगेको खबर दिन यसरी धुनी बाल्ने गरिएको मान्यता रहेको छ ।
यसरी धुनी बालिसकेपछि गर्मी सुरु हुने धार्मिक विश्वास पनि समाजमा रहेको छ ।
त्यसपछि कलशलाई राष्ट्रपति भवन शितल निवास लगेर राष्ट्रपतिलाई छायाँ दर्शन गराइ कलश फेरी चाँगुमै फर्काउने गरिन्छ ।
फोटो फिचर हेर्न यहाँ क्लिक गर्नुहोला
Categorized in संस्कृति