नक्कली सुन दिएर लाखौं रुपैयाँ ठगी गर्ने पक्राउ
SamacharDesk – क्राइम ब्यूराे | २०७७ माघ २८, बुधबार

काठमाडौंमै सुनजस्तो देखिने पहेंलो धातु सुन हो भन्दै लाखौं रुपैयाँ ठगी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको ताहाचल बस्ने एक व्यक्तिलाई १ किलो पहेलो धातु सक्कली सुन हो भन्दै ५५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा ५ जनालाई पक्राउ गरिएको हो ।
गत माघ ११ गतेका दिन ती ५ जनाले पहेंलो धातुलाई सुन भनी ५५ लाख रुपैयाँ ठगेको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१६ बस्ने काभ्रे भुम्लु गाउँपालिका–५ का ३२ वर्षीय सन्त बहादुर लामा, काठमाडौं महानगरपालिका ताहाचल बस्ने झापा अनारमनि–१ बिर्तामोड घर भएका पप्पु भन्ने ५३ वर्षीय अभय कुमार चौधरी रहेका छन् ।
त्यस्तै काठमाडौं तार्केश्वर नगरपालिका–५ शान्तिटोल बस्नेहरु नुवाकोट किस्पाङ गाउँपालिका–१ नुजेतका ४५ वर्षीय ऋषमान घले, किसपाङ गाउँपालिका–१ घर भएका जित भन्ने ३५ वर्षीय मेख तामाङ, किसपाङ्ग गाउँपालिका–१ का चन्द्र भन्ने २० वर्षीय जेरि तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको जानकारी दिएको छ ।
उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।
Categorized in अपराध