arin enterprises

नेपालभाषाको गीत ‘भ्वासि जुयाः...’ सार्वजनिक

SamacharDesk – Bijay Ratna | २०७८ बैशाख १८, शनिबार

कोरोना जोखिमबाट बच्न गत वर्ष जारी निषेधाज्ञा सँगसँगै नेपालभाषाको साँगितिक क्षेत्रमा विभिन्न किसिमले संगीत सृजना भइरहेको छ भने म्युजिक भिडियोहरु पनि धेरै संख्यामा सार्वजनिक भइरहेको छ ।

यसै सन्दर्भमा यसपटकको लकडाउन हुनु एक दिनअघि बुधबार गायिका सुमन श्रेष्ठ ‘मुना’ले गाएको नयाँ गीत ‘भ्वासि जुयाः...’( उरन्थ्यौलो भएर) को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपालभाषा फिल्म क्षेत्रका लोकप्रिय कलाकार रुपेन्द्र श्रेष्ठ थक्वाःमि र नवअभिनेत्री मुस्कान राजभण्डारीको अभिनय रहेको सो म्युजिक भिडियोमा रबिन्द्र श्रष्ठको पनिअभिनय रहेको छ । चन्देश्वर महर्जनको रचना रहेको यो गीतमा सुरेन्द्र श्रेष्ठको संगीत रहेको छ ।

नेपालभाषाको फिल्म क्षेत्रका लोकप्रिय निर्देशक रामकृष्ण खड्गीको निर्देशन रहेको म्युजिक भिडियोका छायाँकार रकि महर्जन र सम्पादन बालकृष्ण वंशीको रहेको छ ।

ललितपुर, पुल्चोकको एम्बियन्स ३६५ मा एक कार्यक्रमबीच सो म्युजिक भिडियो सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा जन संगीत श्रष्टा संगीतकार अमरराज शर्मा राजोपाध्यायले गीतको प्रस्तुति हेरेपछि आफ्नो युवाकालको स्मृति ताजा भएको बताएका थिए ।

यसैगरी कार्यक्रममा भजन साम्राज्ञी रमना श्रेष्ठले गायिका सुमन श्रेष्ठ नेपालभाषाको संगीत क्षेत्रका राम्रो प्रतिभा भएको बताइन् ।

कार्यक्रममा वरिष्ठ फिल्म पत्रकार विजयरत्न असंबरेले गायिका श्रेष्ठ र नवअभिनेत्री राजभण्डारीले आ–आफ्नो क्षेत्रमा पकड जमाउन सफल हुने सम्भावना रहेको विचार राखेका थिए ।

Categorized in पेजथ्री