कोभिड उपचार सहकार्यका लागि मेयर शाक्य र उपत्यका पृतनापतिविच छलफल
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख २२, बुधबार

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकामा बढिरहेको कोभिडको संक्रमण रोकथामका नेपाली सेनाले गरिरहेको काम र थप प्रयासका बारेमा जानकारी लिनुभएको छ ।
आज नेपाली सेना उपत्यका पृतना हेडक्वाटर नारायणहिटीमा बसेको वैठकमा महानगर प्रमुख शाक्यले पृतनापति उपरथी आनन्द अधिकारीलगायतका अधिकारीहरुसँग छलफल गर्दै उपत्यकामा कोभिड नियन्त्रणका लागि संस्थागत सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसमेतको सहभागीता रहेको वैठकमा शाक्यले साना साना इकाइमा आइलोसन, क्वारेन्टीन बनाउँदा जनशक्ति र श्रोत व्यवस्थापनमा समस्या हुने बताउँदै संस्थागत सहकार्यमा अघि बढ्न खोजेको बताउनुभयो ।
‘हामी नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र ठूला अस्पतालहरुसँग सहकार्य गरेर उहाँहरुसँग भएको क्षमता बढाउन चाहन्छौँ, यसरी तयार पारिएको ठाउँमा गरिने कोभिडको उपचार संयन्त्र दिगो, भरपर्दो र प्रभावकारी हुन्छ’ शाक्यले भन्नुभयो ।
त्यस क्रममा पृतनापति उपरथी अधिकारीले कोभिड व्यवस्थापनमा नेपाली सेनाले सक्रियताका साथ काम गरिरहेको जानकारी गराउनुभयो ।
वैठक उपरथी सीताराम खड्काले अहिले अक्सिजनको अभाव तर, व्यक्ति तथा उद्योगहरुले सिलिन्डर संचय गरेकाले चाहिएको बेला आवश्यक स्थानमा पुर्याउन समस्या भइरहेको बताउनुभयो । अस्पताललाई पहिलो र उद्योगलाई दोस्रो प्राथमिकतामा राखेर अक्सिजन वितरण व्यवस्थापन मिलाउने हो भने समस्या नहुने सुझाव खड्काले दिनुभयो ।
वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कोभिड नभएका विरामीको पनि उपचार गर्नु पर्ने भएकोले कोभिडका लागि करीव २ सय वेड स्थापना गर्न सकिने बैठकमा बताइएको थियो । यसै गरी आवश्यकता र जटिलताका आधारमा महाङ्कालस्थित अस्पताल सञ्चालन गरिने अधिकारीहरुको भनाइ थियो ।
Categorized in स्थानीय