arin enterprises

अस्पतालाई चाहिने सहयोग गर्ने महानगर प्रमुख शाक्यको प्रतिवद्धता

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख २८, मंगलबार

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकामा कोभिड १९ संक्रमण नियन्त्रणका लागि काठमाडौं जिल्लाका कोभिड डेडिकेटेड अस्पतललाई चाहिने सहयोग गर्ने बताउनुभएको छ ।

आज काठमाडौंको राष्ट्रिय सभागृहमा काठमाडौं जिल्लाका कोभिड डेडिकेटेड अस्पतालका प्रमुखहरुसँग छलफल गर्दै मानविय क्षति रोक्न सबै मिलेर कोभिड संक्रमण नियन्त्रणमा लाग्न आह्वान गर्नुभयो ।

‘हाम्रो प्राथमिकता भनेको संक्रमण र यसबाट हुने मानवीय क्षति रोक्नु हो । यसका लागि तपार्ईहरुलाई आवश्यक पर्ने थप स्रोतमा हामी सहयोग गर्छौँ, के कस्तो सहयोग चाहिन्छ भन्नुस्’ महानगर प्रमुख शाक्यले भन्नुभयो ।

सो क्रममा शाक्यले कमाउनका लागि नभइ अस्पतालमा परेको विरामीको चाप घटाउन आइसोलेसनको भूमिका हुनुपर्नेमा पनि जोड दिनुभयो । अन्य थप संयन्त्र बनाएरभन्दा अस्पतालहरुको क्षमता बढाएर महामारी नियन्त्रण गर्न सजिलो हुने उहाँको भनाइ थियो ।

कतिपय विरामीहरु अस्पताल जानै नपर्ने अवस्थामा आत्तिएर अस्पताल जाँदा अस्पतालमा चाप बढेको शाक्यले चर्चा गर्नुभयो ।

अस्पतालका अधिकारीहरुले अहिले अस्पतालहरुमा अक्सिजनको अभाव भइरहेकोमा जोड दिँदै महानगरले तत्कालका लागि अक्सिजन कन्सन्ट्रेटर खरिद गरिदिनुपर्ने बताए ।

‘यसपछि अक्सिजन प्लान्टहरु स्थापना गर्दै जानुपर्छ । स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन कामपछि घरमाभन्दा क्वारेन्टीनमा बस्ने प्रबन्ध गरिदिनुपर्छ । काम गर्दा लगाउने पिपिई लगायतका सुरक्षा सामग्रीको व्यवस्था गरिदिनुपर्यो’ अस्पतालका प्रमुखहरुले महानगरसँग आफ्नो अपेक्षा राखे ।

अस्पतालका अधिकारीहरुले छलफलको क्रममा अस्पतालमा प्राथमिकताका आधारमा उपचार गराउन आकस्मिक र होल्डिङ् गरी दुई खालका संरचना बनाउनुपर्ने सुझावसमेत राखेका थिए ।

सो क्रममा उहाँले अस्पतालहरुमा पोर्टेवल एक्स रे मेसिन, अल्ट्रा साउण्ड मेसिन नहुँदा विरामीलाई अन्यत्र पठाउनुपर्ने मात्र नभई पर्याप्त उपकरण नहुँदा कोभिड र ननकोभिड विरामीलाई एउटै मेसिन निसंक्रमण गरेर प्रयोग गर्नुपर्ने अवस्थाको बारेमा जानकारी गराएका थिए ।

छलफलमा उपस्थित सरकारी सबै अस्पतालका अधिकारीहरुले, भेन्टिलेटर, इन्टेन्सिभ केयर युनिट (आइसियु), हाइ डिपेन्डेन्सी युनिट (एचडियु) को संख्या बढाउँदै लगेपनि भरिएको बताएको थिए ।

छलफलमा त्रि. वि. शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्ले, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी, निजामति कर्मचारी अस्पतालका निर्देशकहरु डा. विधाननिधि पौडेल र डा. विमलकुमार थापासहितका चिकित्सकले आ–आफ्नो धारणा राखेका थिए ।

Categorized in स्थानीय