महानगर प्रमुख शाक्यबाट खाेप केन्द्रकाे अवलाेकन
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ जेठ २, आइतबार

आजबाट काठमाडौँ जिल्लामा कोभिड १९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । यसै क्रममा काठमाडौँ महानगरपालिकाले पनि ३२ वटा खोप केन्द्रबाट गत चैत २५ देखि २८ गतेसम्म पहिलो मात्राको खोप लिएकाहरुलाई दोस्रो डोज लगाउन सुरु गरेको छ ।
आज महानगरका प्रमुख विद्यासुन्दर शाक्यले उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको साथै विभिन्न विभागका अधिकारीसहित विभिन्न खोप केन्द्र पुगेर व्यवस्थापनकीय पक्ष र सेवा अवस्थाको अवलोकन गर्नुभयो ।
अवलोकनपछि प्रमुख शाक्यले लाइनमा बस्दा भौतिक दुरी कायम गर्ने, घरबाट निस्कँदा कार्ड लिएर र मास्क लगाएर मात्र खोप केन्द्रमा आउने, भीड नगर्ने जस्ता आधारभूत कुरा सबैतिर पालना गरिएको बताउनुभयो ।
कतै कतै अलि लामो लाइन भएको बताउँदै उहाँले भन्नुभयो, ‘तोकिएको दिनमा विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म आफूलाई पायक पर्ने खोप केन्द्र जहाँ पनि गएर खोप लगाउन पाउने व्यवस्था गरेका छौँ । त्यसैले खुकुलो गरी खोप लगाउन, भीड र हुलमुल नगर्न मेरो अनुरोध छ ।’
सो अवसरमा प्रमुख शाक्यले काठमाडौँ महानगरले कोभिड रोकथाम र नियन्त्रणको साथमा उपचार प्रणाली दुवै क्षेत्रमा समान लगानी गरिरहेको बताउनुभयो ।
निरीक्षणका क्रममा उहाँ वडा ११ को विश्व निकेतन स्कूल, वडा ३२ को वडा कार्यालय, वडा ७ को गुह्येश्वरी विद्यालय, वडा १० को म्याक डोनाल्ड पार्टी प्यालेसलगायतका खोप केन्द्रमा पुग्नुभएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैशाख २५ गतेको निर्णयअनुसार आजबाट खोप कार्यक्रम सुरु भएको हो । यो ११ गतेसम्म चल्नेछ ।
यसमा गएको (०७७) चैत २५ गतेदेखि बैशाख १५ गतेसम्म पहिलो मात्रा लिएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइनेछ ।
तोकिएका दिनमा तोकिएका खोप लाभग्राहीले कार्ड लिएर खोप केन्द्र जानु पर्नेछ । खोप लिने समय विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म तोकिएको छ ।
दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको हो । जसअनुसार भोलि खोप पाउनेमा २०७७ चैत २९ र ३० गते पहिलो खोप लिएका व्यक्तिहरु पर्नुहुन्छ । यस्तै ०७७ र्चैत ३१ र ०७८ बैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइनेछ ।
बैशाख ३ र ४ गते पहिलो खोप लगाएकालाई जेठ ५ गते, बैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई जेठ ६ गते, बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई जेठ ७ गते, बैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई जेठ ८ गते दोस्रो मात्रा खोप दिइनेछ । बैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरुलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइनेछ ।
महानगरको स्वास्थ्य विभागले जिल्ला स्वास्थ्य कार्यालय टेकुबाट खोप र अन्य सामाग्री केन्द्रसम्म पुर्याउन ८ वटा रुटमा सवारी साधन परिचालन गरेको छ ।
खोप लिन जाँदा पालना गर्नुपर्ने केही नियम र सर्तहरु खोप केन्द्रको बाहिर टाँसिएका छन् । जसअनुसार ज्वरो आएका वा कोभिड संक्रमणको लक्षण देखिएका र संक्रमण भएका व्यक्तिले खोप लगाउन मिल्दैन । कार्ड नभएकालाई खोप दिइने छैन । खोप केन्द्रमा जाँदा अनिवार्य मास्क लगाउनु पर्नेछ । खोप केन्द्रमा आपसी दुरी कम्तीमा २ मिटर कायम गर्नुपर्नेछ ।
Categorized in स्थानीय