भारतीय कुश्तीबाज सुशील कुमार गिरफ्तार
SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७८ जेठ ९, आइतबार

दिल्ली पुलिसले दुई पटकसम्म ओलम्पिक विजेता कुश्तीबाज सुशील कुमारलाई गिरफ्तार गरेको छ ।
कुश्तीबाज सागर राणाको हत्या आरोपमा सुशील कुमारलाई गिरफ्तार गरिएको हो । ३८ वर्षीय सुशील कुमारमाथि कुश्तीबाज सागर राणाको हत्याकाण्डमा अपहरण, हत्यालगायत कैयौं धारामा मुद्दा दर्ता छ ।
एसीपी अत्तर सिंहको निगरानी र इंस्पेक्टरद्वय शिवकुमार र करमबीर सिंहको अगुआईमा दिल्ली पुलिसको स्पेशल टीमले सुशील कुमारलाई गिरफ्तार गरेको बीबीसीले जनाएको छ ।
सुशीलको साथमा प्रहरीले ४८ वर्षीय अजयलाई पनि गिरफ्तार गरेको छ । फरार रहँदै आएका सुशील कुमारमाथि भारतीय प्रहरीले एक लाख रुपैयाँको पुरस्कारसमेत राखिएको थियो भने अजयमाथि ५० हजारको पुरस्कार थियो ।
सागर हत्याकाण्डमा सुशील कुमारको जोडिएको विषयमा यहाँका प्राय अखाडाहरु भने चुप छन् ।
सुशील कुमार यस अघि विभिन्न विवादमा मुछिएका थिए ।
सन् २०१७ को कमनवेल्थ गेममा सुशील कुमारले प्रवीण राणालाई पराजित गरेका थिए । त्यो बेला सुशील कुमार र प्रवीण राणाका समर्थकबीच झडप भएको थियो ।
त्यस्तै २०१६ को रियो ओलम्पिकभन्दा अघि ७४ किलो तौल समूहमा भाग लिएका नरसिंह यादवले उनीमाथि आफुलाई डोपिङ्गमा फसाएको आरोप लगाएका थिए ।
