arin enterprises

महानगरको पिसिआर परिक्षणको नयाँ तालिका सार्वजनिक

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ जेठ ९, आइतबार

कोभिड संक्रमणको लक्षण देखिएका तथा शंका लागेका व्यक्तिलाई गरिने पोलिमेयर चेन रियाक्सन (पीसीआर) परीक्षणका लागि काठमाडौँ महानगरले नयाँ तालिका सार्वजनिक गरेको छ ।

महानगरपालिकाले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अब हरेक दिन बिहान ११ बजेदेखि कम्तीमा २ वटा केन्द्रबाट परीक्षण हुनेछ ।

यस अघिको नियमित तालिकामा दिनको १ केन्द्रबाट मात्र हुने गरेकोमा अब २ देखि ३ केन्द्रबाट परीक्षण हुने महानगरपालिकाले बताएको छ । यस अतिरिक्त धेरै संख्यामा परीक्षण गर्नुपर्ने वडाबाट माग आएमा त्यस ठाउँमा पनि परीक्षण हुनेछ ।

नयाँ तालिकाअनुसार आइतबार वडा २९ को पद्मकन्या स्कूल डिल्लीबजार र वडा ४ को विशाल मिलन केन्द्रमा परीक्षण हुनेछ । त्यसैगरी सोमबार वडा १६ को वहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (जुडो हल), वडा २० को शान्ति निकुञ्ज विद्यालय र वडा ३२ कार्यालय परिसरमा परीक्षण हुनेछ ।

मंगलबार वडा ८, बजबागेश्वरी, १४ कलंकी र २६ लैनचौर कार्यालय परिसरमा, बुधबार मीनभवनस्थित साविक ट्रलीबस परिसरमा र वडा १५ को भुइँखेलमा, विहीबार बसन्तपुर र महावौद्धमा तथा शुक्रबार वडा ३ कार्यालय परिसर महाराजगञ्ज र वडा ६ कार्यालय परिसर बौद्धमा परीक्षण हुनेछ ।

महानगरले निःशुल्क रुपमा यो सेवा संचालन गरेको हो ।

परीक्षण गर्न जानु अघि सम्बन्धित वडाका क्लिनिक इन्चार्जसँग सम्पर्क गरेर आइएमयु (इन्फरमेसन म्यानेजमेन्ट युनिट) मा विरामीको विवरण भर्नु पर्नेछ । यी विवरण अनलाइन विधिमार्फत प्रणालीमा पठाइन्छ ।

अनलाइनमा तथ्याङ्क भरेपछि एउटा कोड आउने र उक्त कोडलाई फारममा टिपेपछि आइएमयु प्रक्रिया पूरा हुने महानगरका पीसीआर कार्यक्रम संयोजक ऋषिप्रसाद भुषालले बताउनुभयो ।

Categorized in स्थानीय