arin enterprises

लिभरपुल र चेल्सी च्याम्पियन्स लिगमा छनोट

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ १०, सोमबार

 इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सिजनको आफ्नो अन्तिम खेलमा जित निकालेको छ ।

आइतबार भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–० गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।

उक्त खेलमा लिभरपुलको लागि दुवै गोल साडियो मानेले गरे । उनले खेलको ३६ औं मिनेटमा र ७४ औं मिनेटमा गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।

यो जितसँगै लिभरपुल च्याम्पियन्स लिगमा छनोट भएको छ ।

यस्तै आइतबार राति नै भएको अर्को खेलमा चेल्सी पराजित भएको छ । आफ्नो अन्तिम खेलमा १० खेलाडीमा सिमित भएको चेल्सी एस्टन भिल्लासँग २–१ गोल अन्तरले पराजित भएको हो ।

खेलको ४३ औं मिनेटमा त्राओरेले गोल गर्दै एस्टनलाई अग्रता दिलाएका थिए । खेलको ५२ औं मिनेटमा अनवर एल घाजीले पेनाल्टीमा गोल गर्दै एस्टनलाई २–० को नतिजा दिलाए ।

त्यसपछि खेलको ७० औं मिनेटमा बेन चिलविलले एक गोल फर्काए पनि चेल्सी २–१ ले पराजित भयो ।

यस्तै खेलको ८९ औं मिनेटमा सिजरले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो ।

सिजनको अन्तिम खेलमा पराजित भएपनि चेल्सी शीर्ष चारमा रहदै च्याम्पियन्स लिगमा छनोट भएको छ । लेष्टर सिटी अन्तिम खेलमा टोटेनहमसँग ४–२ गोल अन्तरले पराजित भएपछि चेल्सीको शीर्ष चार पक्का भएको हो ।

लिभरपुलले यस सिजन ३८ खेलमा ६९ अंक जोड्दै तेस्रो स्थानमा रहेर लिग सकाएको छ । चौथो स्थानको चेल्सीले ३८ खेलमा ६७ अंक जोड्यो ।

अन्तिम खेलमा पराजित लेष्टर ६६ अंक जोडेर पाँचौं स्थानमा रह्यो । टोटेनहमले ६२ अंक जोडेर सातौं स्थानमा रहदै सिजनको अन्त्य गरेको छ ।

Categorized in स्पाेर्ट्स