arin enterprises

महानगरले ५ दिन ५० हजारको एन्टिजेन परिक्षण गर्ने

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ जेठ १०, सोमबार

काठमाडौँ महानगरपालिकाले ५ दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने भएको छ ।

महानगरले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा जेठ १४ गतेदेखि परीक्षण शुरु गर्दै ५० हजार व्यक्तिको एन्टिजेन परिक्षणले गर्ने जनाएको हो ।

हरेक दिन १० वडा केन्द्रबाट एन्टिजेन विधिबाट नमूना संकलन गर्ने महानगरको योजना छ । जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले समुदायमा संक्रमण अनुसन्धान तथा शंकास्पद संक्रमणको अवस्था थाहा पाउन परीक्षण गर्ने योजना बनाइएको जानकारी दिनुभयो ।

नयाँ भेरिएन्टको कोभिड–१९ संक्रमण तीब्ररुपमा फैलिन थालेपछि यसको चक्र टुटाउने प्रयासस्वरुप यो परिक्षण अगाडी बढाएको उहाँले बताउनुभयो । परीक्षणका लागि वडामा भएका केस इन्भेष्टिगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ्ग (सीआइसीटी) समूहलाई सक्रिय बनाइने महानगरका कोभिड १९ फोकल पर्सन ज्ञानबहादुर ओलीले बताउनुभयो ।

‘कोभिडको लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका, अग्रपंक्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सवैलाई लक्षित बर्ग मानेर परीक्षण गर्न लागिएको हो’ फोकल पर्सन ओलीले बताउनुभयो ।

परिक्षणका लागि ठूला १५ वटा वडामा प्रति वडा २ वटा केन्द्र र १७ वटा वडामा १/१ वटा केन्द्र र आवश्यकताका आधारमा अन्य केही केन्द्र थप गर्न सकिने विभागले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा संकलित नमूना जाँच गर्ने काम गरिनछे । परीक्षणका लागि आवश्यक पर्ने एन्टिजेनका लागि जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य हुनेछ ।

यस अघि कालीमाटी तरकारी तथा फलफुल बजार र टुकुचा तरकारी बजारमा गरी २ ठाउँमा यस प्रकारको परीक्षण गरिसकिएको छ ।

Categorized in स्थानीय