स्ट्यान्ड अप कमेडियन आदर्श मिश्रलाई पितृशोक
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ १२, बुधबार

अहिलेका चर्चित स्ट्यान्ड अप कमेडियन आदर्श मिश्रका पिता विनोद मिश्रको निधन भएको छ ।
लामो समयदेखि मृगौला रोगले पिडिट विनोदको मंगलबार बिहान चितवनस्थित भरतपुर अस्पतालमा निधन भएको हो ।
नारायणी अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार राती थप उपचारका लागि भरतपुर अस्पताल रिफर गरिएको थियो ।
शिक्षण पेशामा आवद्ध विनोदको गएको चार बर्षदेखि डायोलासिस हुँदै आएको थियो । पछिल्लो समय उनको हप्ताको दुई पटकसम्म मृगौलाको डायोलासिस हुने गरेको थियो ।
हालै एक भिडियो सार्वजनिक गर्दै आदर्शले नेपालमा डायोलासिस मृगौलाका बिरामीको अवस्था निकै नै नाजुक रहेको र उनीहरुले ठुलो समस्या भोग्दै आएको बताएका थिए ।
नारायणी अस्पतालमा डायोलासिसका २ वटै मेसिन विग्रिएको र अस्पतालमा ४ घन्टा डायोलासिस गराउनुपर्नेमा ३ घन्टा मात्र गराइएको भन्दै आदर्शले आफ्ना पितालाई भरतपुर अस्पताल लगेका थिए । कोरोनाका कारण स्वास्थ्य संस्थाहरु अस्तव्यस्त हुँदा डायोलासिस गराउन समस्या भोगेको उनी सुनाउँछन् ।
केहि समय अघि उनले युट्युबमा भिडियो सार्वजनिक गर्दै आदर्शले आफ्ना पिता मृगौलाको रोगले ग्रसित रहेको बताएका थिए ।
आफ्नी सानीआमाले बुबालाई मृगौला दान गर्न तयार हुँदा भारतीय नागरिकबाट किड्नी लिन नमिल्ने भन्दै अस्पतालले किड्नी लिन नमानेको आदर्शले बताएका छन् ।
सरकारविरुद्ध मुद्दा चलाउने आदर्शको भनाई
बुवाको निधनसँगै आदर्शले सरकारविरुद्ध किड्नी प्रत्यारोपण गर्न नदिएको भन्दै मुद्दा चलाउने बताएका छन् । यसका लागि उनले सरोकारवालासँग सहयोगको अपेक्षा गरेका छन् ।
‘मेरो बुवाको किड्नी प्रत्यारोपण हुन नसकेकोमा सरकारविरुद्ध मुद्दा हाल्ने छु,’ उनले लेखेका छन्, ‘किनकि मेरी सानीआमा भारतीय भएका कारण अस्पतालले उनको किड्नी लिन मानेन ।’
बुबाको उपचारमा लागिरहेका उनले सामाजिक सञ्जालमा आफ्नो दुःख र आक्रोस केही दिनदेखि पोख्दै आएका थिए ।
‘यो यस्तो देश हो जहाँ मेरो ममी भारतीय भएकै कारण बाबाको किड्नी ट्रान्सप्लान्ट भएन’ उनले सोसल मिडिया मार्फत् आक्रोस पोखेका थिए, ‘तर केपी ओली प्रधानमन्त्री भएकै कारण दुई पटकसम्म ट्रान्सप्लान्ट भयो । त्यो किड्नी कहाँ फलिरहेको छ, जुन हामीले पाइरहेका छैनौं, प्रधानमन्त्रीज्यूले पाइराख्नु भएको छ अनि, म नरिसाउने किन?’
प्रधानमन्त्री स्वयम् मृगौलाकै बिरामी भएकोले समस्याको बारेमा थाहा हुनुपर्ने उनको बुझाइ थियो ।
Categorized in पेजथ्री