arin enterprises

कोपा अमेरिका फुटबल ब्राजिलमा हुने

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ १८, मंगलबार

४७ औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिता अब ब्राजिलमा हुने भएको छ ।

दक्षिण अमेरिकी फुटबल महासंघले सोमबार ब्राजिलमा कोपा अमेरिका आयोजना गर्ने निर्णय गरेको हो ।

कोपा अमेरिका आगामी १३ जुन देखि १० जुलाईसम्म हुने तय छ ।

यसअघि कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियाले संयुक्तरुपमा आयोजना गर्ने तय थियो ।

अर्जेन्टिनामा अहिले दैनीक ३४ हजार भन्दा बढीलाई कोरोना संक्रमण हुने गरेकोले कोपा अर्जेन्टिनाबाट सार्नु परेको दक्षिण अमेरिकी फुटबल महासंघले जनाएको थियो । यस्तै कोलम्बियामा राजनीतिक आन्दोलन चर्किएपछि कोलम्बियालाई सहआयोजकबाट हटाइएको थियो ।

गत वर्ष नै आयोजना हुनुपर्ने कोपा कोरोनाका कारण एक वर्ष धकेलिएको थियो ।

कोपामा अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली, पाराग्वे, कोलम्बिया, ब्राजिल, भेनेजुएला, इक्वेइडर र पेरुले भाग लिनेछन् ।

यसअघि सन् २०१९ को कोपा अमेरिका पनि ब्राजिलमै भएको थियो । त्यतिबेला ब्राजिलले फाइनलमा पेरूलाई पराजित गर्दै उपाधि जितेको थियो । 

Categorized in स्पाेर्ट्स