परिक्षणको ३० प्रतिशतमा संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७८ जेठ १८, मंगलबार

नेपालमा कोरोना संक्रमितको पहिचानका लागि गरिने परिक्षणको संख्या पछिल्लो ३ दिनमा निकै कमी आएकोमा आज आएर २० हजार माथि परिक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा जम्मा २० हजार १६५ जनाको स्वाब नमूनाको परिक्षण गरिएको छ । परिक्षण संख्याको ३० दशमलव १७ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
जम्मा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । १७ हजार १४७ आरटी पिसिआर परिक्षणमा ५ हजार २८५ जनामा र ३ हजार १८ एन्टिजेन परिक्षणमा ८ सय जनामा संक्रमण पुष्टि भएको हो ।
तीमध्ये १० वर्षसम्मका १७४ जना बालबालिका छन् भने ११ देखि २० वर्ष उमेर समूहका ४५६ जना छन् । हालसम्म ५ लाख ६६ हजार ५८७ जनालाई कोभिड १९ संक्रमण भइसकेको छ ।
सक्रिय संक्रमितको संख्यामा कमी आउँदै गरेको देखिएको छ । हाल एक लाख ४ हजार ७८९ जना सक्रिय संक्रमितहरु उपचाररत छन् ।
९७ हजार ७०४ जना संक्रमित होम आइसोलेसनमा छन् । आइसीयूमा रहेका एक हजार ४९१ जनामध्ये ४०४ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।
पछिल्लो पटक ६ हजार ८९८ जना संक्रमितले कोरोना भाईरसलाई परास्त गर्दै संक्रमणमुक्त भएका छन् । योसँगै कोभिड १९ संक्रमण निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ जना संक्रमित निको भइसकेका छन् ।
संक्रमण निको हुनेको दर ८० दशमलव २ प्रतिशत रहेको छ ।
धेरै समयपछि कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या सयभन्दा तल देखिएको छ । थप ६८ जना संक्रमितको मृत्यु भएसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ ।
Categorized in राष्ट्रिय