काठमाडाैं महानगरबाट २ अस्पताललाई २/२ थान भेन्टिलेटर सहयोग
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ जेठ १८, मंगलबार

काठमाडौँ महानगरपालिकाले काठमाडौंका २ वटा अस्पताललाई २/२ वटा भेन्टिलेटर मेसीन सहयोग प्रदान गरेको छ ।
महानगरपालिकाले जनस्वास्थ्य सरोकार ट्रस्ट काठमाडौं मोडेल अस्पताल र हेल्पिङ ह्यान्ड्स अस्पताललाई २/२ थान भेन्टिलेटर प्रदान गरेको हो । आज महानगर प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालहरुलाई भेन्टिलेटर हस्तान्तरण गर्नुभयो ।
जनस्वास्थ्य सराेकार ट्रस्ट काठमाडौं मोडेल अस्पताल पुगेर उपकरण प्रदान गरिसकेपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख शाक्यले, महामारीका समयमा जनताको जीवन रक्षाका लागि सरकारी र सामुदायिक अस्पतालहरुको क्षमता बढाउन सहयोग गरिरहेको बताउनुभयो ।
‘महामारी नियन्त्रणका लागि सरकारका काममा नागरिकको सहभागिता पनि आवश्यक छ । यसका लागि महानगरले उपचारका लागि अस्पतालको क्षमता बढाउन सहयोग गरेको छ भने संक्रमण दर थाहा पाउन एन्टिजेन र पीसीआर परीक्षण गरिरहेको छ’ महानगर प्रमुख शाक्यले बताउनुभयो ।
सो क्रममा अस्पतालका कार्यकारी निर्देशक राजेशध्वज जोशीले महानगरले उपलब्ध गराएको उपकरणको प्रयोगबाट हामी धेरैभन्दा धेरै विरामीलाई सेवा दिने प्रतिवद्धता प्रकट गर्नुभयो । उपकरणहरु नवजात शिशुदेखि बयस्क सबैका लागि प्रयोग गर्न सकिने बताइएको छ ।
सहयोगका लागि महानगरपालिका र जन स्वास्थ्य सरोकार ट्रष्टका विचमा गएको बैशाख ३१ गते सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सम्झौताबमोजिम भेन्टिलेटरको खरिद मुल्य महानगरले भुक्तानी गरिदिनेछ ।
त्यस्तै हेल्पिङ ह्यान्ड्स अस्पताललाई भेन्टिलेटर हस्तान्तरण गर्दै महानगर प्रमुख शाक्यले घरमा बस्न समस्या भएका संक्रमितका लागि निःशुल्क भोजन र अक्सिजन थेरापीसहितको आइसोलसन सेन्टर सञ्चालन गरेको जानकारी गराउनुभयो ।
महानगर उप प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अहिले महानगर आफैँले अस्पताल खोल्न सक्ने अवस्था नभएकाले महामारी नियन्त्रण गर्न सरकारी र सामुदायिक अस्पतालको क्षमता बढाउन सहयोग गरेको बताउनुभयो ।
‘यसरी गरिएको सहकार्यबाट कोभिड संक्रमण दर घटाउन, उपचार प्रभावकारी बनाउन, अक्सिजनको अभाव हुन नदिन र सबैको पहुँचमा खोप पुर्याउन मद्दत पुग्ने अपेक्षा गरेका छौँ’ उहाँको भनाइ थियो ।
हेल्पिङ हेण्ड्सका कार्यकारी प्रमुख गुप्तबहादुर श्रेष्ठले अस्पतालको क्षमता बढाउन महानगरपालिकाबाट प्राप्त सहयोगलाई अतुलनीय रहेको बताउँदै अस्पतालमा भर्ना हुन आएका कोही पनि विरामीलाई नफर्काउने प्रतिवद्धता जनाउनुभयो ।
काठमाडौँ महानगरले कोभिड संक्रमितको उपचारका लागि सरकारी र सामुदायिक गरी १२ वटा अस्पताललाई पूर्वाधार, उपकरण, सामाग्री र व्यवस्थापकीय क्षमता बढाउन सहयोग गरिसकेको छ ।
Categorized in स्थानीय