arin enterprises

६ हजार ८२५ नयाँ संक्रमित थप

SamacharDesk – बिकाश | २०७८ जेठ २०, बिहिबार

नेपालमा पछिल्ला दिनहरुमा कोभिड १९ संक्रमितको पहिचानका लागि गरिने परिक्षणमा कमी आइरहेको गुनासो बढिरहँदा आज २१ हजार माथि परिक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ७७३ जनाको स्वाब नमूनाको परिक्षण गरिएको छ । यद्यपि जनस्वास्थ्यविद्का साथै स्वास्थ्यकर्मीहरुले भने संक्रमणलाई चाँडो नियन्त्रणमा लिन परिक्षणको दायरा अझ फराकिलो बनाउनुपर्ने बताइरहेका छन् ।

पछिल्लो परिक्षणमा ३१ दशमलव ३४ प्रतिशतमा कोभडि संक्रमण पुष्टि भएको छ । जम्मा ६ हजार ८२५ जना नयाँ संक्रमित भेटिएका छन् ।

१८ हजार ५६२ आरटी पिसिआर परिक्षणमा ५ हजार ८२५ र ३ हजार २११ एन्टिजेन परिक्षणमा एक हजार जना संक्रमित भेटिएका हुन् । तीमध्ये १८० जना १० वर्ष मुनिका बालबालिका रहेका छन् भने ११ देखि २० वर्ष उमेर समूहका ४८२ जना छन् ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ ।

तीमध्ये ८१ प्रतिशत निको भइकेका छन् । हालसम्म ४ लाख ६७ हजार ४६७ जना संक्रमित निको भइसकेका छन् । पछिल्लो पटक ५ हजार ९०४ जना संक्रमित निको भएर घर फर्केका छन् ।

सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ८३९ रहेको छ । ९४ हजार ९०९ जना होम आइसोलेसनमा छन् भने ६ हजार ९३० जना विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् । आइसीयूमा रहेका एक हजार ४४४ जनामध्ये ३९८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

थप ७५ जनाको कोभिड संक्रमितको मृत्यु भएसँगै कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको छ ।

Categorized in राष्ट्रिय