arin enterprises

रसायनजन्य प्रदुषण नियन्त्रण गर्नुपर्नेमा विज्ञहरुको जोड

SamacharDesk – बिराज | २०७८ जेठ २२, शनिबार

जल, स्थल र वायूमण्डललाईसमेत प्रभावित बनाउँदै जनस्वास्थ्यमासमेत असर गरिरहेको रसायनजन्य प्रदुषणप्रति सरोकारवालाहरुले ध्यानाकर्षण गराएका छन् ।

विश्व वातावरण दिवस २०२१ को सन्दर्भमा आयोजना भएको भर्च्युअल कार्यशाला गोष्ठीका वक्ताहरुले यस्तो ध्यानाकर्षण गराएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल विज्ञान तथा प्रज्ञा प्रष्ठिानका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले ६० प्रतिशत बढी जनसंख्या शहरमै केन्द्रीत हुँदा प्रदुषणको श्रोत पनि शहर केन्द्रीत बन्न पुगेको बताउनुभयो ।

‘काठमाण्डौं उपत्यकामा २० बर्ष अगाडिसम्म खेती योग्य उर्वरा जमिन थियो । परिवर्तनसँगै खाद्य सुरक्षामा आएको संकटलाई टार्न कौसी खेती एक भरपर्दो उपाय भएको छ, यसलाई वातावरणीय पूनर्स्थापनाको लागि रणनितीको रुपमा अगाडी बढाउनु पर्छ’ श्रेष्ठले भने ।

एरोसानका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्यले महामारीको समयमा अस्पताल तथा सार्वजनिक स्थानका शौचालयहरुको सरसफाईमा विशेष ध्यान नपुर्‍याउने हो भने यस्ता महामारी फैलाउन सार्वजनिक शौचालय नै कारक बन्न सक्ने विचार राख्नुभयो ।

‘हामीले अहिले बुझिसकेका छौ सरसफाई कति महत्वपूर्ण छ र यस महामारीको समयमा स्वास्थ्य सेवामा जस्तै हाम्रो शौचालयमा पनी लगानी गर्नुपर्ने सही समय आइसकेको छ’ सरसफाई विशेषज्ञसमेत रहेका अमात्यको भनाई हो ।

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक तथा वातावरण बैज्ञानिक राम चरित्र साहले आफ्नो अध्ययनको क्रममा धातुका मुर्तिहरु बनाउने क्रममा हावा, पानी, माटो साथै कामदारहरुको शरीरमा समेत मर्करीको अवशेष पाएको बताउनु भयो ।

ख्वप कलेजकी रुविना सुवालले नेपाली बालबालिकाहरुले निकै रुचाउने विभिन्न १५ ब्राण्डका चाउचाउमा लेड (सिसा) को  मात्रा पाइएको जानकारी दिनुभयो । निरन्तर लेडको शेवन गर्दा बालबालिकाहरुमा दीर्घकालीकरुपमै शारीरीक, मानसिक र बौद्धिक असर देखिने सुवालको भनाई हो ।

सफेडका कार्यक्रम अधिकृत सुमिन महर्जनले आफ्नो अध्ययनको निष्कर्ष सुनाउँदै काठमाडौं उपत्यकाको थिमि, खोकना, कीर्तिपुर, हरिसिद्धी र कालिमाटीका तरकारीमा विषादीका मात्रा बढेको पाइउको बताउनुभयो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. बुद्धी सागर पौडेलले विश्व भरी हावा , पानी, रुखकौ विषयमा छलफल भइरहेको समयमा वातावरणमा रहेका रसायन एक महत्वपुर्ण विषय भएको जिकीर गर्नुभयो ।

विभागले यस विषयमा विभिन्न अनुसन्धान गरी रहेको जानकारी पनि उहाँले गराउनुभयो ।

दिवसको अवसरमा गैर सरकारी संस्था गुथि, जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिफेड) र वातावरण विभाग, ख्वप कलेजले संयुक्त रुपमा गोष्ठीको आयोजना गरेको हो ।

Categorized in विज्ञान-प्रविधी