२५ गतेबाट ६०–६४ वर्ष उमेर समूहले खोप पाउने
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ जेठ २३, आइतबार

आउँदो जेठ २५ गतेबाट ६० बर्षदेखि ६४ बर्ष उमेर समूहका व्यक्तिहरुलाई कोभिड विरुद्धको खोप दिइने भएको छ ।
यसको लागि आज खोप केन्द्रको नाम तोकेर वडा खोप समन्वय समितिलाई पत्र पठाइएको छ । काठमाडौँ महानगरको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागले केन्द्रको ना मतोकेर समितिलाई पत्र पठाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा आज जिल्ला स्वास्थ्य कार्यालय र विभागविच बैठक बसेर हरेक वडामा एक/एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ ।
यही निर्णयका आधारमा वडाको खोप केन्द्र वडाबाट तोक्नका लागि पत्राचार गरिएको हो ।
यो उमेर समूहका व्यक्तिका लागि चाइनीज खोप ‘भेरोसेल’ को पहिलो मात्रा दिन लागिएको हो ।
सरकारले खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिनेहरु, त्यसपछि ६५ बर्षदेखि माथिल्लो उमेर समूहका व्यक्ति र तेस्रोमा १८ बर्षदेखि ५९ बर्ष उमेर समूहका व्यक्तिलाई खोप दिएको थियो ।
यी व्यक्तिहरुलाई उपलब्धताका आधारमा कसैलाई भारतीय खोप कोभिसिल्ड र कसैलाई भेरोसेल खोप दिइएको हो ।
यसरी खोप पाएकामध्ये धेरैले दुवै डोज लगाएका छन् भने कोभिसिल्डको पहिलो मात्रा लगाउने केहीले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।
यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैशाख २५ गतेको निर्णयअनुसार महानगरपालिकासहित जेठ २ गतेबाट काठमाडौँ जिल्लामा कोभिड १९ विरुद्धको चिनियाँ खोप भेरो सेलको दोस्रो मात्रा लगाइएको थियो ।
जेठ ११ गतेसम्म वडास्तरमा करीब १ लाख व्यक्तिले खोप लगाएका थिए ।
Categorized in स्थानीय