नेपालको विश्वकपमा छनोट हुने आशा समाप्त
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ २५, मंगलबार

नेपालको विश्वकपमा छनोट हुने आशा समाप्त भएको छ ।
सोमबार फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल जोर्डनसँग ३–० गोलले पराजित भएपछि विश्वकपमा छनोट हुने आशा समाप्त भएको हो ।
कुवेत सिटीको जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा खेलेको खेलको २४ औं मिनेटमा बाहा फाइजलले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई सुरुवाती अग्रता दिलाएका थिए ।
जोर्डनका मौसा मोहमद सुलेमानलाई नेपालका रोहित चन्दले पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो ।
खेलको ४९ औं मिनेटमा बाहा फाइजलले फ्रिकिक मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै जोर्डनलाई २–० को अग्रता दिलाए ।
त्यसपछि खेलको ६७ औं मिनेटमा याजनले गोल गर्दै जोर्डनलाई ३–० को जित दिलाए ।
योसँगै जोर्डनले नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न सफल भएको छ । गत वर्षको अक्टोबरमा घरेलु मैदानमा छनोट अन्तर्गत कै खेलमा जोर्डनले नेपाललाई ३–० ले नै हराएको थियो ।
यस्तै नेपालको विश्वकपमा छनोट हुने आशा समाप्त भएपनि एसियन कप छनोटको सम्भावना भने कायमै रहेको छ ।
अब नेपालले समूह चरणको अन्तिम खेल शुक्रबार अष्ट्रेलियासँग खेल्नेछ । नेपाललाई एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउन अष्ट्रेलियासँगको अन्तिम खेल जित्नै पर्ने हुन्छ र अन्य समूहको नतिजाको पनि प्रतीक्षा गर्नुपर्छ ।
जितसँगै समूह ‘बी’ को जोर्डनले ६ खेलमा १३ अंक जोडेको छ । जोर्डन अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपालले ७ खेलमा ६ अंक जोडेको छ ।
नेपाल चौंथो स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स