arin enterprises

खोप कार्यक्रमको अनुगमन गर्दै मेयर शाक्य

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ जेठ २५, मंगलबार

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ६० देखि ६४ बर्ष उमेरसमूहका नागरिकहरुलाई कोभिडविरुद्धको खोप लगाउन आग्रह गर्नुभएको छ ।

आजबाट शुरु भएको ६० देखि ६४ वर्ष उमेर समूहका लागि खोप कार्यक्रम अन्तर्गत खोप केन्द्रको अनुगमन गर्ने क्रममा प्रमुख शाक्यले यस्तो बताउनु भएको हो ।

‘उक्त उमेर समूहका कोही पनि खोप अभियानमा नछुटुन भनेर जनप्रतिनिधिको अगुवाइमा टोलटोलमा माइकिङ गर्ने व्यवस्था गरेका छौँ, यो चरणमा मात्रै एक लाख जना नागरिकलाई खोप दिने लक्ष्य लिएका छौं’ शाक्यले भन्नुभयो ।

शाक्यले आज वडा १३ को जनप्रभात मावि कालिमाटी, वडा २१ को यंगाल सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, वडा २३ को ओम वहाल र वडा २५ कन्या मन्दिर माध्यामिक विद्यालयमा राखिएका खोप केन्द्रको अनुगमन गर्नुभएको थियो ।

‘विगतका दिनमा विभिन्न अस्पतालहरुमा केन्द्र बनाएर खोप अभियान सञ्चालन गर्दा भिडभाड हुने, भिडभाडबाट संक्रमण फैलिने डर हुने लगायतका गुनासो आएपछि काठमाडौँ महानगरपालिकाले ३२ वटा वडामा ३२ वटै केन्द्र बनाएर खोप अभियानलाई व्यवस्थापन गरेको छ’ शाक्यको भनाई हो ।

वडाध्यक्ष, सदस्य, स्वयमसेवक, सामाजिक संस्थाका प्रतिनिधिहरुको निरन्तरको खटाइले थप सहज भएको पनि शाक्यले दावी गर्नुभयो ।

अनुगमनका क्रममा शाक्यले सकेसम्म छिट्टै सबैलाई खोपको व्यवस्था मिलाउन सुझाव आएको शाक्यले जानकारी गराउनुभयो ।

सबैको सुझावलाई आत्मसाथ गर्दै नेपाल सरकारसँग थप समन्वय गर्दै सकेसम्म छिट्टै सबै महानगरवासीलाई खोपको व्यवस्था गर्ने प्रतिवद्धता शाक्यले व्यक्त गर्नुभयो ।

Categorized in स्थानीय