arin enterprises

समूह ‘एफ’ बाट फ्रान्स, जर्मनी र पोर्चुगल नकआउट चरणमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ १०, बिहिबार

समूह विजेता बन्दै फ्रान्स युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राति हंगेरीको बुडापेस्ट स्थित पुस्कास एरिनामा भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २–२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो ।

 खेलको ३१ औं मिनेटमा कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । फ्रान्सका गोलकिपर ह्युगो लोरिसले पेनाल्टी क्षेत्रमा डानिल पेरीएरालाई फउल गरेपछि पोर्चुगलले पेनाल्टीको अवसर पाएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा बेन्जिमाले पनि पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई १–१ गोलको बराबरीमा ल्याए । पोर्चुगलका नेल्सन सेमिडोले केलियन एमबाप्पेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो । यो बेन्जिमाले फ्रान्सका लागि ५ वर्ष २ सय ५८ दिनपछि गोल गरेका हुन् । पछिल्लो पटक उनले फ्रान्सका लागि २०१५ को अक्टोबर ८ मा गोल गरेका थिए ।

दोस्रो हाफको सुरुवातमै पाउल पोग्बाको पासमा बेन्जिमाले ४८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए । तर, ६० औं मिनेटमा फ्रान्सका जुलेसले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २–२ गोलको बराबरीमा ल्याए । 

जारी युरोमा रोनाल्डोको यो पाँचौ गोल हो । रोनाल्डो युरोकपमा सर्वाधिक धेरै गोल गर्ने कीर्तिमानी खेलाडी समेत हुन् ।

त्यस्तै यहि समूहको अर्को खेलमा हंगेरीलाई बराबरमा रोक्दै जर्मनी समूह उपविजेताको रूपमा युरोकप २०२०को नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राति एलिनाज स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा हंगेरीसँग २–२ गोलको बराबरी खेल्दै जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ ।

खेलमा सुरुवाती अग्रता भने हंगेरीले बनाएको थियो । ११ औं मिनेटमा कप्तान एडम सज्लाईले रोलान्डको पासमा गोल गर्दै हंगेरीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

६६ औं मिनेटमा काइ हाभर्टेजले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरीमा फर्काए ।

लगत्तै आन्द्रेस सेफेरले ६८ औं मिनेटमा गोल गर्दै हंगेरीलाई २–१ को अग्रता दिलाए ।

तर, लियोन गोर्टेज्काले खेलको ८४ औं मिनेटमा गोल गर्दै जर्मनीलाई २–२ को बराबरीमा फर्काउदै हारबाट जोगाए ।

समूह ‘एफ’ मा फ्रान्सले ३ खेलमा ५ अंकले शीर्ष स्थानमा छ भने को उपविजेता बनेको जर्मनी ३ खेलमा ४ अंक जोड्यो ।

यस्तै तेस्रो स्थानको पोर्चुगलले समानखेलमा ४ अंक जोडेको छ । हंगेरी भने ३ खेलमा २ अंकले समूह चरणबाट बाहिरिएको छ । 

 

Categorized in स्पाेर्ट्स