इटालीको नयाँ राष्ट्रिय कीर्तिमान
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ १३, आइतबार

शनिबार राति युरोकप २०२० को दोस्रो प्रिक्वाटरफाइनलमा अस्ट्रियालाई पराजित गरेसँगै इटालीले आफ्नो अपराजित खेल संख्या ३१ खेलसम्म लम्ब्याउँदै नयाँ राष्ट्रिय कीर्तिमान बनाएको छ । यो इटाली सर्वाधिक खेलमा अपराजित रहेको खेल संख्या हो ।
युरो २०२० को समूह चरणमा शतप्रतिशत जित निकालेसँगै इटालीले अन्तर्राष्ट्रिय खेलमा आफ्नो अपराजित खेल संख्या ३० पुर्याउँदै इटालीले अपराजित खेल संख्यामा आफ्नो राष्ट्रिय रेकर्डसँग बराबरी गरेको थियो ।
यसअघि इटालीले सन् १९३९ मा पनि अपराजित खेल संख्या ३० खेलसम्म लम्ब्याएको थियो । इटालीले सन् १९३५ अक्टोबरदेखि १९३९ को जुलाईसम्ममा खेलेका ३० खेलमा हारेको थिएन ।
त्यतिबेला इटालीले लगातार दोस्रो पटक विश्वकपको उपाधि र सन् १९३६ को ओलम्पिक फुटबलमा पनि स्वर्ण पदक पनि जितेको थियो ।
अहिले इटालीले १० अक्टोबर २०१८ मा पोर्चुगलसँग १–० गोलले पराजय भोगेपछि खेलेको ३१ अन्तर्राष्ट्रिय खेलमा हारेको छैन । ३१ खेल मध्ये इटालीले २६ खेलमा जित हात पारेको छ भने ५ खेलमा बराबरीमा रोकिएको छ ।
यस्तै इटालीले सन् २०२१ मा खेलेका सबै खेलमा जित हात पारेको छ । इटालीले सन् २०२१ मा ९ खेल खेलेको जसमा २६ गोल गरिसकेको छ ।
अपराजित खेल संख्याको रेकर्ड भने ब्राजिल र स्पेनको संयुक्त नाममा छ। दुवै टिमले लगातार ३५ खेलसम्म पराजय भोगेका थिएनन् ।
यस्तै दोस्रो स्थानमा अब इटाली र अर्जेन्टिना छन् । अर्जेन्टिनाले सन् १९९१ देखि १९९३ को बीचमा ३१ खेलमा पराजय भोगेको थिएन ।
Categorized in स्पाेर्ट्स